पोखरा, २८ वैशाख । र्यान्डम रिडर्स सोसाइटी, पोखराको आयोजनामा शनिवार लेखक मुकुन्दराज शर्माको निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’ माथि विशेष परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक, पत्रकार र साहित्यकारको उपस्थिति रहेको थियो।
कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको समीक्षा गर्दै ‘धोबीघाट मेलोडी’ जीवन मेलोडी नै भएको टिप्पणी गरे। उनले निबन्धहरूबीच रूप–विषय फरक देखिए पनि सबैले जीवनका गहिरा अनुभूति बोकेको बताएका थिए। “चम्चागिरी गर्नेहरू ठूला मान्छेका पैतालामा भेटिन्छन्, त्यही यथार्थमाथि तीखा व्यङ्ग्य प्रहार कृतिको विशेषता हो,” वाग्लेले भने।
निबन्धकार शर्माले निबन्धहरू विचारको स्वतन्त्र प्रवाहका रूपमा लेखिएको जानकारी गराउँदै, आफ्ना जीवनका भोगाइ, अनुभूति र देखेका यथार्थलाई कलात्मक रूपमा उतार्ने प्रयास गरिएको बताए।
गीतकारका रूपमा पनि परिचित शर्माका “हिउँचुलीमा हिउँ बग्यो…” र “वनमाराले वनै खायो…” जस्ता चर्चित गीत छन्। उनले यसअघि ‘शब्दशिविर’ नामक निबन्ध सङ्ग्रह प्रकाशित गरिसकेका छन्। हाल काठमाडौँस्थित लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल रहेका शर्माले गणित विषयका पाठ्यपुस्तकहरू पनि लेखेका छन्।
साहित्यकार सरुभक्तले शर्माका निबन्धमा रहेको काव्यिक गुणको प्रशंसा गर्दै र्यान्डमले पोखरामा बौद्धिक बहसको सशक्त मञ्च निर्माण गरेको बताए। निबन्धमा विद्यावारिधि गरेका डा. जीवलाल बस्यालले शर्माका निबन्धहरू छुट्टै स्वाद दिने शैलीका भएको अनुभव साझा गरे।
सोसाइटीका पूर्वअध्यक्ष उपेन्द्र पौडेलले ‘धोबीघाट मेलोडी’ लाई विभिन्न फूलहरूको माला जस्तै मनमोहक र भावनात्मक निबन्धहरूको सङ्ग्रह भएको बताए।
कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए। साथै, पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले आगामी जेठ महिनाको अन्तिम शनिवार सुरेश भुसालको कृति ‘छालबाटो’ माथि रोशन शेरचनले परिचर्चा प्रस्तुत गर्ने जानकारी दिएका छन्।