पोखरा — पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्था लिले महिला शेयर सदस्यहरूलाई उद्यमशील बनाउन अचार बनाउने तालिम सम्पन्न गरेको छ।
नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा आयोजित तालिममा प्रशिक्षक अनामिका श्रेष्ठले नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भूतपूर्व सैनिक परिवार र ठकुरी युवा परिवार कास्कीका महिला सदस्यहरूलाई मासु, मेथी र लसुनको अचार बनाउने विधि सिकाउनुभएको थियो।
कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष राजाराम शाहीले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले तालिममा प्राप्त सीपको प्रयोग गर्दै पेशा वा व्यवसाय सञ्चालन गर्न चाहनेलाई संस्था नियमअनुसार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
प्रशिक्षक श्रेष्ठले दिदीबहिनीहरूलाई घरमै बसेर खाली समयको सदुपयोग गर्दै अचार उत्पादन गर्न सकिने र सो बाट घरेलु खर्च धान्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममार्फत सिकिएको सीपलाई फुर्सदको समयमा प्रयोग गरेर अचार उत्पादन गरी बजारमा बेच्न पनि प्रेरित गर्नुभयो।
संस्थाले उत्पादन गरिएका अचारहरूको बजारीकरण तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने जनाएको छ। तालिमले महिलाहरूमा स्वावलम्बी बन्ने आत्मबल थपेको सहभागीहरूको धारणा छ।