पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार र कनेक्टिभिटी अपरिहार्य : मन्त्री शरतसिंह भण्डारी — OSNepal

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार र कनेक्टिभिटी अपरिहार्य : मन्त्री शरतसिंह भण्डारी

Kesh Karki (USA) May 15, 2025 0

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण र बजारसँगको कनेक्टिभिटी अत्यावश्यक रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ को पर्यटन तथा नेपाली वस्तुहरुको प्रवर्द्धन सत्रलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले विश्व नै नेपालको पर्यटन बजार भएको उल्लेख गर्दै त्यसका लागि पूर्वाधारलगायत पहुँच प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिए।

उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारको तर्फबाट सहजीकरण र पूर्वाधार निर्माणमा जोड दिँदै निजी क्षेत्र, विशेषतः गैरआवासीय नेपाली समुदाय (एनआरएन) सँग सहकार्य आवश्यक रहेको बताए। “जबसम्म पूर्वाधार बन्दैन, तबसम्म पर्यटन प्रवर्द्धन हुँदैन,” मन्त्री भण्डारीको भनाइ थियो।

आफ्नो अनुभव सुनाउँदै पूर्वाधारको आवश्यकता दोहोऱ्याइयो

मन्त्री भण्डारीले आफू पर्यटन मन्त्री रहेको २०१० को अनुभव सुनाउँदै ८० हजार पर्यटकबाट एकै वर्षमा ८ लाख पर्यटक भित्र्याउन सफल भएको उदाहरण प्रस्तुत गरे। उनले पर्यटन व्यवसाय प्रवर्द्धन निजी क्षेत्रको भूमिका भएको र सरकारको दायित्व वातावरण निर्माण गर्नु रहेको स्पष्ट पारे।

प्रदेशीय सर्किट र विविध गन्तव्य प्रवर्द्धनको प्रस्ताव

सत्रमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले देशको पर्यटन काठमाडौं, पोखरा र चितवनसम्म सीमित रहेको भन्दै सातै प्रदेशका लागि छुट्टाछुट्टै सर्किट निर्माण गर्नुपर्ने सुझाव दिए। उनले खप्तड, रामायण सर्किट, र सुदूरपश्चिमको देवातबी सर्किटलाई प्रवर्द्धन गर्न एनआरएनएलाई आह्वान गरे।

कनेक्टिभिटीको कमजोरी र हवाइ सेवामा सुधारको माग

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले नेपालमा हवाई टिकट महँगो हुनु, विमान अभाव, तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटी कमजोर हुनु पर्यटन विकासको बाधक रहेको बताए। उनले युरोपजस्ता गन्तव्यसँग प्रत्यक्ष हवाई सेवा सुदृढ गर्न एनआरएन समुदायको सक्रियता र लगानी आवश्यक रहेको धारणा राखे।

उनले “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइकाओबाट सर्टिफाइड छ, तर भैसी दौडाएको भिडियो भाइरल बनाएर त्यसको छवि बिगारियो” भन्दै प्रचारमा आएको नकारात्मकता हटाउन पनि आग्रह गरे।

पर्यटन शिक्षा र कूटनीति सँग जोडिएको प्रस्ताव

नेपाल पर्यटन बोर्डका सुनिल शर्माले पर्यटन प्रवर्द्धनलाई कूटनीतिक र प्राविधिक कौशल आवश्यक पर्ने क्षेत्रको रूपमा व्याख्या गर्दै, एनआरएन समुदायका लागि नेपालको संस्कृति र इतिहास बुझाउने छोटो पाठ्यक्रम निर्माण गर्न प्रस्ताव गरे। “एनआरएन भनेका अनौपचारिक दूत हुन्,” भन्दै उनले तीन दिने कोर्स तयार गरेर एनआरएनहरूलाई प्रशिक्षण दिन आग्रह गरे।

एनआरएन सहभागिता, लगानी र सञ्जाल विस्तारको प्रस्ताव

होटल एसोसिएसन अफ नेपालका सिइओ टेकेन्द्र महतले पर्यटन क्षेत्रलाई विकेन्द्रीकरण गर्न एनआरएनलाई जन्मथलोमा फर्काउने संयन्त्र बनाउने सुझाव दिए। उनले पर्यटन ऐनमा एनआरएनएलाई समेट्नुपर्ने, लगानीमा साझेदारीका ढोका खोल्नुपर्ने र अनुभव आदानप्रदानका लागि संयन्त्र आवश्यक रहेको बताए।

निर्यात, उत्पादन र व्यापार जोड्ने सम्भावना

पोर्चुगलका लागि वाणिज्यदूत राजेन्द्र खेतानले साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरू निर्यात गर्न सरकार र निजी क्षेत्र तयार रहेको भन्दै लघुवित्त समूहका उत्पादनलाई निर्यात गर्न सकिने बताएका थिए। उनले पोखरा र भैरहवाबाट कार्गो फ्लाइट सञ्चालनको सम्भावनाबारे पनि प्रकाश पारे।

पूर्वराजदूतको विश्लेषण : सम्भावना प्रशस्त, इच्छाशक्ति कम

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले नेपालमा विश्वमै दुर्लभ ६ प्रकारका हावापानी रहे पनि पर्यटन तथा व्यापार उभो लाग्न नसकेकोमा चिन्ता व्यक्त गरे। उनले एनआरएनएलाई कूटनीतिज्ञहरूसँग सहकार्य गर्न आह्वान गर्दै, जलवायुअनुसारको महँगो वस्तु उत्पादन गरेर निर्यात गर्न सकिने बताए।

संस्थागत भूमिकाबारे एनआरएनए पदाधिकारीको धारणा

एनआरएनएकी सचिव टीका गुरुङले स्वदेशी उत्पादन र व्यापार विस्तारमा एनआरएनहरूको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट पारिन्। उपाध्यक्ष विनोद श्रेष्ठले छलफलमा उठेका विषय व्यवहारिक कार्यान्वयनमा लैजानुपर्ने अपेक्षा व्यक्त गरे।

सत्रको सञ्चालन संघका उपमहासचिव तथा पर्यटन प्रवर्द्धन विभाग प्रमुख सोम सापकोटाले गरेका थिए।

यस सत्रमा उठेका सुझाव, प्रस्ताव र धारणा नेपालको पर्यटन विकासमा निजी क्षेत्र र एनआरएनएको सहकार्यलाई अझ मजबुत बनाउने दिशामा अग्रसर गराउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर