काठमाडौं । निर्देशक दीपेन्द्र के. खनाल निर्देशित बहुप्रतीक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ को ग्रान्ड प्रिमियर कीर्तिपुर सिनेप्लेक्समा भव्य रूपमा सम्पन्न भएको छ। प्रिमियरमा कलाकार, पत्रकार र चलचित्रकर्मीहरूसँगै १८० जना सर्वसाधारण दर्शकलाई समेत समावेश गरिँदै फरक शैली अपनाइएको थियो।
सामान्यतया प्रिमियर कार्यक्रममा चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई मात्र आमन्त्रण गरिने चलन भए पनि यसपटक निर्माण टिमले नर्मल अडियन्सलाई प्राथमिकता दिँदै उनीहरूसँगै बसेर चलचित्र हेर्ने अवसर प्रदान गर्यो। प्रिमियरपछि ती दर्शकहरूसँग सिधा प्रतिक्रिया पनि लिइएको थियो।
फिल्म हेरेका दर्शकहरूले चलचित्रलाई आम नागरिकको कथा बोकेको, मर्मस्पर्शी र पारिवारिक भावनामा आधारित रहेको भन्दै प्रशंसा गरेका छन्। अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको खुलेर प्रशंसा गरे भने अभिनेत्री स्वस्तिमा खड्काले ‘फेमिली भ्यालुज’मा आधारित, सरल र भावनात्मक चलचित्रको संज्ञा दिइन्।
अभिनेत्री मनिषा कोइरालाले कथाले मनमा गहिरो छाप छोडेको प्रतिक्रिया दिँदै फिल्मलाई ‘मर्मस्पर्शी’ बताइन्। गायिका अन्जु पन्तले सम्बन्ध र संघर्षको प्रस्तुतीकरण मन परेको बताउँदै चलचित्रलाई “कहिले हाँसाउने, कहिले रुवाउने” भावनात्मक अनुभव रहेको भनिन्।
चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीले दर्शकसँग सँगै बसेर सिनेमा हेर्न पाउनु निकै भावुक क्षण भएको बताइन्। निर्देशक खनालले प्रिमियरमा सर्वसाधारण दर्शकलाई सहभागी गराउनुको उद्देश्य वास्तविक प्रतिक्रिया प्राप्त गर्नु भएको उल्लेख गरे।
चलचित्र ‘के घर के डेरा : घर नं २’ मा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरीलगायत कलाकारको अभिनय रहेको छ। बुद्धिसागरले लेखेको कथामा आधारित यो चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त निर्माण हो।