काठमाडौं । ज्येष्ठ नागरिकको जीवनस्तर uplift गर्न पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडबीच आज एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार, दुवै संस्थाले सम्मानजनक वृद्ध अवस्थाको प्रवर्द्धनका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्।
सम्झौतामा इन्क्रेडिबल माउन्टेनका प्रबन्ध निर्देशक उमेश सुवेदी र पुस्तान्तरण नेपालका कार्यालय प्रबन्धक त्रिलोचन सुवेदीले हस्ताक्षर गरेका हुन्। यस सहकार्य अन्तर्गत इन्क्रेडिबल माउन्टेनले आफ्नो कुल नाफाको दुई प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तान्तरण नेपालका स्वास्थ्य, समावेशीकरण, क्षमता विकास तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूमा सहयोग गर्नेछ।
दुवै संस्थाले संयुक्तरूपमा ‘गरिमामय वृद्ध अवस्था’ प्रवर्द्धन गर्ने भ्रमण प्याकेज र फन्डरेजिङ ट्रेक आयोजना गर्ने समेत जनाइएको छ। यस पहलले जनचेतना अभिवृद्धि, संरचनात्मक सहयोग तथा ज्येष्ठ नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
पुस्तान्तरण नेपालले अहिले पनि चिकित्सा, मनोसामाजिक, मनोरञ्जन तथा डे केयर सेवा दिँदै आएको छ र निकट भविष्यमा ज्येष्ठ नागरिक भिलेज सञ्चालन गर्ने योजना बनाइरहेको छ। नेपाल वृद्ध जनसंख्याको दिशामा उन्मुख भइरहेका बेला यस्तो सहकार्य अत्यन्तै सान्दर्भिक रहेको बताइएको छ।
ग्लोबल नेटवर्क अफ ओल्डर पिपल्सको सदस्य समेत रहेको पुस्तान्तरण नेपालले भविष्यमा नयाँ प्रविधि र सीप भित्र्याएर ज्येष्ठ नागरिकको सेवा अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।