काठमाडौं । विभिन्न सरकारी तथा गैरसरकारी कागजात नक्कली बनाउने गिरोहका तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङस्थित एक घरमा छापा हानी उनीहरूलाई कीर्ते कागजात र उपकरणसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा गोरखा भिमसेनथापा गाउँपालिका–१ स्थायी घर भई हाल तारकेश्वर–२ देवीचोक बस्ने ४६ वर्षीया अन्जनी बयलकोटी, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का, र मकवानपुर कैलाश गाउँपालिका–२ की २३ वर्षीया अन्जु खत्री रहेका छन्।
अनुसन्धानमा खुलेका प्रमुख तथ्यहरूअनुसार अन्जनी बयलकोटी विगत ८ वर्षदेखि विभिन्न सरकारी तथा शैक्षिक कागजात, जग्गाधनी पुर्जा, सिफारिस पत्र, सवारी चालक अनुमति पत्र, र Marriage Certificate समेत नक्कली बनाउँदै आएकी थिइन्। उनीसँगै कार्यरत सहयोगीहरूलाई मासिक १० देखि १५ हजार रुपैयाँ तलब दिएर कार्यालय जस्तो शैलीमा काम गरिरहेको थियो।
पक्राउ परेकाहरूले जापान जान चाहने विद्यार्थीहरूका लागि सहकारी संस्था तथा बैंकका नक्कली स्टेटमेन्ट तयार गरी कुरियरमार्फत विदेश पठाउने गरेको, विदेशी भिसा प्रक्रियामा सजिलो पार्न Marriage Certificate तथा विभिन्न नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, नेपाली सवारी चालक अनुमति पत्र नक्कली बनाई विदेशी सवारी अनुमतिपत्रको आवेदनमा प्रयोग गर्न पठाउने, विभिन्न संस्था तथा कार्यालयका होलोग्राम समेत बनाई दिने गरेको पुष्टि भएको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर, भद्रकालीमार्फत थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको छ।