हजयात्रीका लागि नेपाल मेडिकल कलेजद्वारा औषधी सहयोग — OSNepal

हजयात्रीका लागि नेपाल मेडिकल कलेजद्वारा औषधी सहयोग

Kesh Karki (USA) May 16, 2025 0

काठमाडौं । नेपाल मेडिकल कलेजले सन् २०२५ को हजयात्रामा सहभागी नेपाली हजयात्रीहरूका लागि अत्यावश्यक औषधी सहयोग प्रदान गरेको छ। हजयात्राको क्रममा स्वास्थ्य समस्या नहोस् भन्ने उद्देश्यले कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले औषधी सामग्रीहरू व्यवस्थापन गरी नेपाल हज समितिलाई हस्तान्तरण गर्नुभएको हो।

बिहीबार कलेज परिसरमै आयोजित कार्यक्रममा हज समितिका पदाधिकारीहरूलाई बोलाएर औषधी प्रदान गर्दै अध्यक्ष अन्सारीले सम्पूर्ण हजयात्रीहरूको सुस्वास्थ्य, दीर्घायु र सफल हजयात्राको शुभकामना व्यक्त गर्नुभयो। “यात्रामा निस्किनुभएका सबै हजयात्रीको सफल र सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना छ,” उहाँले भन्नुभयो।

उक्त औषधीहरू हजयात्राको अवधिमा देखिन सक्ने सामान्य स्वास्थ्य समस्याका पूर्वसावधानी र उपचार दुवैका लागि उपयोगी हुने बताइएको छ।

कार्यक्रममा नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले सहयोगप्रति आभार व्यक्त गर्दै भने, “प्रा.डा. अन्सारीज्यूको सहयोगले हजमा सहभागी धेरैको जीवन रक्षा हुने विश्वास लिएको छु। उहाँप्रति हामी कृतज्ञ छौं।”

हज समितिका अनुसार यस वर्ष ११७१ जना नेपाली हजयात्री साउदी अरबको मक्का मदिना जाँदैछन्, जसमा ५२५ महिला र ६४६ पुरुष छन्। तीमध्ये करिब २ सयजना ज्येष्ठ नागरिक रहेका छन्।

साउदी सरकारले सन् २०२५ का लागि नेपाललाई १२०० हजयात्रीको कोटा तोकेको छ। नेपाल हज समितिले प्रत्येक वर्ष मुस्लिम समुदायका हजयात्रीहरूको व्यवस्थापन तथा सहजीकरणको कार्य गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर