“उच्च शिक्षाका लागि बढ्दो वैदेशिक आकर्षण : शिशिर सिंखडासँग १२ प्रश्नमा पूर्ण विश्लेषण” — OSNepal

“उच्च शिक्षाका लागि बढ्दो वैदेशिक आकर्षण : शिशिर सिंखडासँग १२ प्रश्नमा पूर्ण विश्लेषण”

Kesh Karki (USA) May 16, 2025 0

१२ कक्षा पास गरेपछि उच्च शिक्षाका लागि विदेश जाने युवाहरूको जमात बढ्दो छ । मध्यम वर्गदेखि उच्च वर्गका युवाहरूमा विदेशमै गएर अध्ययन गर्ने, करियर बनाउने सोच आउनुको कारण विदेशमा पाइने अवसर मुख्य आधार रहेको क्याम्ब्रिजका संस्थापक प्रबन्ध–निर्देशक शिशिर सिंखडा बताउनुहुन्छ । उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीमध्ये अधिकांशको रोजाइमा अष्ट्रेलिया र यूके (बेलायत) परेको उहाँको दाबी छ । उच्च शिक्षा हासिल गर्न किन विदेश जाने ? त्यसमाथि अष्ट्रेलिया र यूके नै किन ? १५ वर्षदेखि शैक्षिक परामर्श दिँदै आउनुभएका सिंखडासँग गरिएको कुराकानीको संक्षेप:

१) उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीहरूको अवस्था कस्तो छ ?

केही वर्षयता उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूको संख्या बढ्दो छ । खासगरी अष्ट्रेलिया, यूके, क्यानडा, न्यूजिल्याण्डजस्ता विकसित देश विद्यार्थीको रोजाइमा छन् । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार गत वर्ष मात्र १ लाख १२ हजार बढी विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्, जसमा जापानसँगै अष्ट्रेलिया, यूके, क्यानडा जस्ता उत्कृष्ट विश्वविद्यालय र कलेज भएका देशहरू उनीहरूको प्राथमिक रोजाइमा परेका छन् ।

२) किन नेपाली विद्यार्थीहरू लगातार विदेशिइरहेका छन् ?

ग्लोबलाइजेसनसँगै विकसित देशको शैक्षिक, व्यवहारिक ज्ञान र व्यक्तिगत जीवन व्यवस्थापनसँगै पढाइ सँगसँगै हुने आर्थिक उपार्जनको अवसरले विद्यार्थीहरू उच्च शिक्षाका लागि आकर्षित भएका छन् । नेपालको शिक्षा प्रणाली अझै परम्परागत र थ्योरिटिकल छ । विदेशको शिक्षा प्रयोगात्मक, जीवनोपयोगी र व्यावसायिक छ । आफूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन, अन्तर्राष्ट्रिय डिग्रीसँगै ज्ञान, सीप र अनुभव प्राप्त गर्न, सहज जीवनशैली र रोजगारीका प्रचुर अवसरले गर्दा पनि नेपाली विद्यार्थीहरू विदेशिन्छन्, जसलाई अन्यथा मान्नु हुँदैन ।

३) व्यवहारिक जीवनमा प्रवेश नै नगरेका विद्यार्थीहरू एकैपटक फरक संस्कृति, कानुन र भूगोलमा कसरी अडिन्छन् ?

खासगरी अभिभावकले यो प्रश्न गर्नुहुन्छ । तर, अहिलेको ग्लोबलाइजेसन र आधुनिक समाजमा उच्च शिक्षासँगै अवसरको खोजीमा विश्व बजारमा पुग्नु नौलो होइन । त्यसमाथि, फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले विश्वलाई हरेक नेपालीको हातहातमा पुर्‍याएको छ । नेपालमै रहँदै विद्यार्थीहरूले कुनै पनि देशको संस्कृति, कानुन, भूगोल र जीवनशैली बुझिसकेका हुन्छन् । फेरि, एक दशकयता अष्ट्रेलिया, बेलायत, क्यानडा, जापानजस्ता विकसित देशहरूमा लाखौं नेपाली पुगिसकेको सन्दर्भमा भाषा, संस्कृति, कानुन र भूगोलकै कारणले समस्या पर्छ भन्ने मलाई लाग्दैन, विशेषगरी अष्ट्रेलिया र यूकेजस्ता अति विकसित देशहरूमा ।

४) विद्यार्थीहरूको पहिलो रोजाइमा अष्ट्रेलिया, बेलायतजस्ता देश पर्नुको कारण के हो ?

पहिलो कुरा, अष्ट्रेलिया र बेलायतको शिक्षा विश्वव्यापी रूपमा मान्यता प्राप्त छ । यी देशहरूमा विश्वकै उत्कृष्ट विश्वविद्यालय र कलेजहरू छन्, जहाँ संसारका सबै विषयहरू अध्ययन गर्न सकिन्छ । दोस्रो, हाम्रा विद्यार्थीहरूले शैक्षिक, आर्थिक र सामाजिक दृष्टिले पनि पहुँच राख्छन् । १२ पास गरेर अंग्रेजी भाषा परीक्षा (IELTS वा PTE) मा राम्रो स्कोर ल्याएका मध्यमदेखि उच्च आर्थिक क्षमताका विद्यार्थीहरूले अष्ट्रेलिया वा यूकेका जुनसुकै कलेज र युनिभर्सिटीमा जान सक्छन् । तेस्रो कुरा, यी देशहरूले विदेशी विद्यार्थीका लागि सहज वातावरण बनाएका छन् । अष्ट्रेलियन र यूके सरकारले अर्थतन्त्रमा अन्तर्राष्ट्रिय विद्यार्थीको भूमिका महत्त्वपूर्ण मानेका कारण विदेशी विद्यार्थीमैत्री नीतिहरू ल्याएका छन् । यी देशहरूको रहनसहन, जीवनशैली नेपाली विद्यार्थीका लागि सुहाउँदो छ । अध्ययनसँगै काम गर्ने, छात्रवृत्ति पाउने आधारहरूले पनि आकर्षण बढाएको हो ।

त्यसो त, यी देशहरूमा योग्यतालाई प्राथमिकता दिइन्छ – पढ्न, बस्न, काम गर्न भूगोल, लिङ्ग, जात वा समुदायको कुनै सीमा छैन ।

५) नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने शैक्षिक संस्था छन्, विदेश जानु पर्दैन भन्ने पनि छ नि ?

पक्कै पनि, नेपालमा अन्तर्राष्ट्रियस्तरको शिक्षा हासिल गर्न नसकिने होइन । हाम्रा विद्यार्थीहरूले प्राप्त गरेको शिक्षा गुणस्तरीय भएकैले उनीहरू विदेशी कलेज र विश्वविद्यालयमा पढ्न योग्य भएका हुन् । तर, विदेशमा विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्दा जुन अनुभव र अवसर पाउँछन्, त्यो नेपालमा पाइँदैन । विदेशी विश्वविद्यालयहरूले सिकाइका लागि अत्याधुनिक प्रयोगशाला, पुस्तकालय, र प्रविधिहरू उपलब्ध गराउँछन्, जुन नेपालमा दुर्लभ छन् । साथै, नेपालमा सबै विषयहरू उपलब्ध छैनन् । विदेशमा एआई, मेशिन लर्निङ, नवीकरणीय ऊर्जा जस्ता नयाँ विषयमा अध्ययन र अनुसन्धानका अवसर छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उपस्थितिले बहुसांस्कृतिक वातावरण निर्माण हुन्छ, जसले विद्यार्थीको दृष्टिकोण फराकिलो बनाउँछ । विदेशको स्थिर शैक्षिक वातावरण र राजनीतिक प्रभावबाहिरको संरचना पनि ठूलो विशेषता हो ।

६) नेपाली विद्यार्थीहरू समस्यामा परेका घटनाहरू पनि बाहिरिआइरहेका छन्, यसलाई कसरी मूल्यांकन गर्ने ?

जसरी एउटै आमाको कोखबाट जन्मिएका सन्तानका स्वभाव एउटै हुँदैनन्, त्यस्तै विदेश गएका सबै विद्यार्थी सफल हुन्छन् भन्ने हुँदैन । तर, जो विद्यार्थी भविष्यप्रति प्रतिबद्ध, सजग र इमान्दार छन्, जसले मेहनत गर्छन् र आफ्नो तथा अभिभावकप्रति जिम्मेवार बन्छन्, उनीहरू सफल हुन्छन् । त्यसैले समस्या देखिएको आधारमा सम्पूर्ण विद्यार्थीलाई दोष दिन मिल्दैन ।

७) कसका कारण नेपाली विद्यार्थीले विदेशी भूमिमा दुःख पाइरहेका छन् ?

तीन मुख्य कारण छन् — पहिलो, विद्यार्थीको शैक्षिक योग्यता र आर्थिक क्षमताको अभाव । दोस्रो, गलत शैक्षिक परामर्श । तेस्रो, अभिभावकको दबाब । विद्यार्थीले सम्बन्धित विषयको निरन्तरता नदिएर असम्बन्धित विषय पढ्न खोज्दा समस्या आउँछ । गलत कन्सल्टेन्सीको प्रभावले पनि त्रुटिपूर्ण कलेज वा कोर्स छनोट हुन्छ । ऋण खोजेर विदेश गएका विद्यार्थीमाथि अभिभावकको तिव्र आर्थिक अपेक्षा पनि एउटा कारण हो । धेरैले तुरुन्तै कमाएर घर पठाउने सोच राख्छन्, तर सातामा सिमित घण्टा मात्र काम गर्न पाउने कानुनी सीमा हुन्छ । त्यसैले विद्यार्थीले पढाइसँगै अनुभव लिनु पर्छ, न कि कमाएर घर पठाउन।

८) विदेश जानुअघि विद्यार्थीले के–केमा ध्यान दिन जरुरी छ ?

देशको शैक्षिक, सामाजिक, कानुनी र सांस्कृतिक पृष्ठभूमिको जानकारी आवश्यक छ । विदेश जानको उद्देश्य स्पष्ट हुनुपर्छ — पढ्न जान लागेको हो कि स्थायी बसोबासको लागि ? कुन विषय पढ्ने ? त्यसको भविष्य के हो ? भाषा परीक्षण (IELTS, PTE) को तयारी गर्नु आवश्यक छ । त्यस्तै, खर्च व्यवस्थापन, विश्वसनीय कन्सल्टेन्सी छनोट, फर्जी आश्वासनबाट बच्नुपर्छ । कलेजको ट्युसन फी सिधा कलेजलाई बुझाउने, टिकट आफैं काट्ने, भिसा शुल्क दूतावासलाई बुझाउने – यस्ता प्रक्रियामा स्पष्टता हुनुपर्छ ।

९) धेरै विद्यार्थीले उच्च शिक्षा पूरा गर्न नसक्नुको कारण के हो ?

मुख्य कारण भनेको लक्ष्यविहीनता, पढ्नभन्दा बढी कमाउने सोच, कलेज चेञ्ज, र गलत संगत हो । तर, धेरै विद्यार्थीले भने नेपालमा देखेको सपना पुरा गरेका छन् । शिक्षा पूरा गरेपछि नै व्यवसायिक क्षेत्रमा अवसर खुल्ने भएकाले प्राथमिकता पढाइमै दिनुपर्छ ।

१०) अधिकांश विदेश गएका विद्यार्थी नेपाल फर्किंदैनन्, कसरी हेर्नुहुन्छ ?

विद्यार्थीले ‘पढ्न जान लागेको हो’ भने हामी स्वागत गर्छौं । तर, ‘पिआर पाउन, पैसा कमाउन’ भन्ने सोच लिएर आउनेलाई हतोत्साहित गर्छौं । मैले १५ वर्षमा कुनै विद्यार्थीलाई गलत बाटोमा पथप्रदर्शन गरेको इतिहास छैन । विदेशबाट प्राप्त सीप र अनुभव स्वदेशमै प्रयोग गर्नुपर्छ । नेपालमा शिक्षा, पर्यटन, लगानी, पूर्वाधार, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा युवाको नविन दृष्टिकोण र ज्ञानको खाँचो छ ।

११) विदेश गएपछि विद्यार्थीले के कस्ता भोगाइहरू गर्नुपर्छ ?

विदेशको जीवन सिनेमाजस्तो होइन । एक्लोपन, मानसिक दबाब, भाषा समस्या, कानुनी अनभिज्ञता – यी सबै चुनौती छन् । तर, दृढ मनोबल, सही सोच र तयारीसहित जाने हो भने सबै चुनौती अवसरमा बदल्न सकिन्छ ।

१२) तपाईंहरूलाई ‘युवा जनशक्ति पलायन गराउने’ आरोप लाग्छ, के भन्नुहुन्छ ?

हामीले कहिल्यै पलायन गराएका छैनौं, हामी त पुलको काम गरिरहेका छौं । हामी सीप र ज्ञान सिक्न पठाउँछौं । धेरै युवाहरू विदेशबाट फर्किएर देशमा काम गरिरहेका छन् । नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सरकार नीति र वातावरण बनाओस्, हामी तयार छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर