मोरङ, पथरी शनिश्चरे – पथरी शनिश्चरे नगरपालिका–४ र ८ को सीमामा पर्ने कुशलचोकदेखि रिङरोडसम्मको सहिद मार्ग कालोपत्रे गर्ने कार्यप्रति स्थानीयवासीले असन्तुष्टि जनाउँदै निर्माण कार्य अवरुद्ध गरेका छन्। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय कोसीबाट २० लाख र शहरी विकास तथा भवन कार्यालयबाट २० लाख गरी विनियोजन गरिएको ४० लाख रुपैयाँको बजेटमा भइरहेको सडक निर्माणलाई विहीबार बिहानदेखि स्थानीयले बाँस तेस्र्याएर रोक लगाएका हुन्।
स्थानीयवासीले घर अगाडिको सडक कालोपत्रे हुने सूचना पाएसँगै आफ्ना आँगन, ट्युववेल, चर्पी, खोर र फलफूलका रुखसमेत हटाएर जग्गा दिएका थिए। तर, प्रत्यक्ष रुपमा संलग्न पूर्व सांसद लालबहादुर सुस्लिङ मगरका अनुसार सडक १० मिटर चौडा र १६ सय मिटर लामो हुने गरी बजेट विनियोजन गरिए पनि केवल ३ मिटर मात्र कालोपत्रे गर्न थालिएको छ।
‘हामीले ए लेवलको ग्राभेलसहित १६ सय मिटरको सिफारिस गरेका थियौं,’ सुस्लिङले बताए, ‘तर अहिले वडाध्यक्षहरूले मनपरी निर्णय गरेर छोटो दूरी मात्र कालोपत्रे गर्न खोजेपछि स्थानीय आक्रोशित भएका छन्।’
ड्रेनसमेत नबनाई सडकको बीच भाग मात्रै कालोपत्रे गरिएको भन्दै स्थानीयले बाँकी भागमा माटो खनिएर सडक भासिने, दुर्घटना बढ्ने चिन्ता व्यक्त गरेका छन्।
स्थानीय खड्ग सुस्लिङ, छवि राई, शान्ता ठकुरी र निरबहादुर मगर लगायतका नागरिकहरूले पारदर्शिताको अभाव रहेको र स्थानीय सरोकारवालाको सरसल्लाह विना प्राविधिक डिजाइन परिवर्तन गरिएको आरोप लगाए।
वडाध्यक्ष नविन कार्कीले भने स्थानीयको माग अनुसार कालोपत्रे बाहेकको भागमा गिटी हाल्ने सहमति भएको बताएका छन्। वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले भने निर्माण क्रमागत रूपमा अगाडि बढिरहेको र कालोपत्रे पछि बाटो समान लेवलमा आउने बताएका छन्।
यता, आयोजनाको सार्वजनिक सूचना, लागत, लम्बाइ, चौडाइ र कार्यसम्पन्नको म्यादसम्बन्धी कुनै सूचना पाटी नराखिएको भन्दै स्थानीयले निर्माणमा पारदर्शिता नभएको गुनासो गरेका छन्।
स्थानीयहरूले ‘उधारो आश्वासन’ नस्वीकार्ने अडान लिँदै माग पूरा नभएसम्म निर्माण कार्य अघि बढ्न नदिने चेतावनी दिएका छन्।