काठमाडौं । निर्देशक दीपेन्द्र के खनाल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ले रिलिजको पहिलो दिनमै राम्रो वर्ड अफ माउथ पाउन थालेको छ । आज (शुक्रबार) बाट देशव्यापी प्रदर्शनमा आएको चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको निर्देशक खनालको दाबी छ ।
उनका अनुसार बिहानभन्दा बेलुकाको शोहरूमा दर्शकको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ । “बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ,” खनालले बताए, “वर्ड अफ माउथ बलियो हुँदै गएको छ । हेर्नेजति दर्शकले सिनेमा राम्रो रहेको बताउनु भएको छ ।”
‘जिन्दगी कसरी जिउने भन्ने’ मुख्य सन्देश बोकेको सिनेमालाई दर्शकले तारिफ गरिरहेको खनालको भनाइ छ । प्रिमियरमा देखिएको उत्साह जस्तै नियमित शोहरूमा पनि दर्शकको उत्साह कायमै रहेको उनले बताए ।
निर्देशक खनालले दर्शकको प्रतिक्रिया नै चलचित्रको सबैभन्दा बलियो प्रचार माध्यम भएको बताए । “हामीले जे विश्वास गरेका थियौँ, त्यस्तै भइरहेको छ,” उनले भने, “दर्शकबाटै हाम्रो सिनेमाको पब्लिसिटी भइरहेको छ ।”
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
साहित्यकार बुद्धिसागरको कथामा बनेको यो चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त ब्यानरमा निर्माण भएको हो ।
चलचित्रका छायाँकार कृष्णबहादुर थापा हुन् भने कार्यकारी निर्माता युवराज कार्की र निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।