काठमाडौं, १५ जेठ – गीतकार सङ्घ नेपालले ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण–२०८१’ कार्यक्रम भव्य रूपमा सम्पन्न गर्दै आफ्नो १६औं स्थापना दिवस मनाएको छ। पिंगलास्थानस्थित होटेल बेस्ट वेस्टन प्लसमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि थिए भने संघका अध्यक्ष बसन्त बित्यासी थापा सभापति थिए।
कार्यक्रमको विशेष आकर्षणको रूपमा प्रतिष्ठित गीतकार गणेश रसिकलाई यस वर्षको ‘अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान’ अर्पण गरियो। अस्वस्थताका कारण कार्यक्रममा सहभागी हुन नसकेका रसिकलाई आयोजकले उनको निवासमै पुगेर नगद रु १ लाख ५१ हजार, सम्मानपत्र र दोसल्ला प्रदान गरे। भोजपुरमा जन्मिएका ७८ वर्षीय रसिक सन् २०२४ देखि रेडियो नेपालमार्फत सांगीतिक क्षेत्रमा सक्रिय छन्।
यसै अवसरमा अमेरिकामा बसोबास गर्दै नेपाली गीत लेखनमा योगदान पुर्याउने गीतकार दिलिप योन्जन तामाङलाई ‘डायस्पोरा गीतकार सम्मान’सहित नगद रु १५,०००, तथा सन्जोग लाफा मगरलाई ‘मातृभाषा गीतकार सम्मान–२०८१’ अन्तर्गत नगद रु २५,२५२ प्रदान गरियो।
कार्यक्रममा ८६ वर्षीय हरिभक्त बुढाथोकीलाई वरिष्ठ गीतकारको रूपमा रु ५,५५१, सम्मानपत्र र दोसल्लासहित सम्मान गरियो। यस्तै, डा. ओमकृष्ण प्रसाई र ध्रुव खनाललाई भैरवनाथ रिमाल ‘कदम’ वार्षिक गीत पुरस्कार प्रदान गरियो भने त्रिविक्रम पाण्डे र हिमांशु रायलाई जगत मर्दन थापा गीत पुस्तक पुरस्कार–२०८१सहित नगद रु ५७,००० दिइयो।
बौद्धिक सम्पत्ति संरक्षण सम्मान यस वर्ष एआईजी टेक तामाङलाई प्रदान गरियो। संघको भौतिक सहयोगमा योगदान गरेका एलेन ठूलेलाई समेत सम्मान गरिएको छ। समारोहमा गीतकार संघका नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र पनि प्रदान गरियो।
कार्यक्रममा प्रमुख अतिथि भूपाल राईले गीतकार संघलाई स्रष्टाहरूको हकहितमा समर्पित पवित्र संस्था भन्दै नेपाली गीतले बहुभाषिक सौन्दर्य बोकेको बताए। अध्यक्ष बसन्त बित्यासी थापाले गीतकारहरूको हक र अधिकारका लागि संघ निरन्तर सक्रिय रहेको उल्लेख गरे।
देशभरका प्रतिष्ठित गीतकार, संगीतकार तथा ३०० बढी स्रष्टाहरूको सहभागिता रहेको कार्यक्रममा उपाध्यक्ष रमेश कोइरालाले स्वागत मन्तव्य दिएका थिए भने सञ्चारकर्मी हेम सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए।