पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरामा गजलकार देवेन्द्र केसी ‘देवु’ का गजलहरू प्रस्तुत गर्दै विशेष गजल साँझ कार्यक्रम सम्पन्न भएको छ।
पोखरामा जन्मिएका गजलकार देवेन्द्र केसी ‘देवु’ का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठले संगीत र स्वर भरि एकल प्रस्तुति दिनुभएको थियो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गजलकार केसीका सातवटा गजल वाचन गरिएको थियो।
मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विविध भावनाहरू समेटिएका गजलहरू प्रस्तुत गरिएको उक्त कार्यक्रममा पोखरेली साहित्यकार, सञ्चारकर्मी लगायत विभिन्न पेशामा आवद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा प्रस्तुत गरिएको गजलमध्ये एकमा—
“अहो क्या छ बान्की तिमी पोखराकी ।
भनुँ रुप खानी तिमी पोखराकी ।।
मनोहर छ आभा फिंजाएर झाँकी ।
भएँ मुग्ध प्यारी तिमी पोखराकी ।।”
भनेर पोखराको सौन्दर्यको बर्णन गरिएको छ भने अर्को गजलमा—
“चलेको छ ज्यादै घमासान युुद्ध
कलि काल लाग्यो कि देखिन्न बुुद्ध ।।”
भनेर समाजिक यथार्थ चित्रण गरिएको थियो।
कार्यक्रमलाई प्रमुख अतिथि सरुभक्तले पोखरामा यस प्रकारको कार्यक्रम पहिलो पटक भएको भन्दै स्रष्टा देवेन्द्र केसी ‘देवु’को उच्च प्रशंसा गर्नुभएको थियो। उहाँले पोखरेली गजल साहित्यका लागि यो महत्वपूर्ण कार्य भएको समेत बताउनुभयो।
गजलकार केसी स्वयं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ भने कार्यक्रमको सञ्चालन समाजका महासचिव असफल गौतमले गर्नुभएको थियो। कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, कार्यक्रम संयोजक घनेन्द्र ओझा र समाजका पूर्व अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।