ईश्वरी न्यौपाने
सान् फ्रान्सिस्को (क्यालिफोर्निया)
जुन ३, २०२५
नेपालीपन र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले अमेरिकाको सान् फ्रान्सिस्को शहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ। नेपालीको पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले आगामी जुन ७ देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो।
महोत्सवमा हिन्दु र बौद्ध धर्मका विभिन्न पूजा हुने भएका छन्। श्रीमद देवीभागवत नवाह ज्ञानमहायज्ञ तथा बौद्ध शान्ति पूजा मुख्य कार्यक्रम राखिएको छ। बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले ९ दिन नै भागवत बाचन गर्नुहुनेछ भने बौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्नुहुनेछ।
भागवत श्रवण गर्नेमात्र नभई यसपटक सोही मण्डपमा भक्तजनले निजी पूजा पनि गर्न पाउने भएका छन्। पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रहशान्ति पूजा, लाखबत्ति पूजा गर्न सकिने धार्मिक महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिनुभयो। ‘धेरैलाई विभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन। त्यसैले भागवतलाई बनेको मण्डपमा सबै सर्दाम आयोजकले जुटाइदिने र भक्तजनहरू आएर पूजा गर्ने सुविधा गरिएको हो,’ दवाडीले भन्नुभयो। यी पूजाका लागि तोकिएको शुल्क तिरेर अग्रिम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ। ९ दिनसम्म यज्ञमा राखेर प्रत्येक दिन पूजिएको कलश घरमा राख्दा पवित्र हुने भएकाले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यक्रम छ। यसको लागि आयोजकले तोकेको पोशाकमा महिलाहरूले कलश बोकेर शोभायात्रामा सहभागी हुनुपर्नेछ। नेपालबाट कलश र एकै रंगका सारी मगाइएको महोत्सवका सह-संयोजक तथा कलश यात्राकी संयोजक बिष्णु घलेले जानकारी दिनुभयो।
भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजकका निश्चित मान्छे नभई जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ। ‘पहिलो दर्ता गर्नेले पूजा गर्ने अवसर पाउनेछन्,’ संयोजक दवाडीले भन्नुभयो—‘नान्स सामाजिक संस्था भएकाले समुदायका सबैलाई अवसर दिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसर खुला गरिएको हो।’ यसअघि सन् २०११ र सन् २०१८ मा पनि यहाँ महायज्ञ भएको थियो। तर त्यसमा भागवत वाचन मुख्य काम मात्रै हुन्थ्यो। यसपटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्ष पूजामा सहभागी हुन पाउने गरी आयोजना भएको थिएन।
संकलित रकम नेपाली कम्युनिटी सेन्टरलाई
नान्सले गत नोभेम्बरमा नेपाली कम्युनिटी सेन्टरको भवन किनेको छ। यस क्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ वर्षपछि यहाँ भवन खरिदको काम भएको हो। भवनलाई शुद्धिकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउने गरी महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो। यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरूपको रकम नेपाली कम्युनिटी सेन्टरको लागि प्रयोग गरिने कार्कीको भनाइ छ।
नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो। त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण रहेको छ। संस्थाले यअघि २०२४ को अगष्टमा भवन किन्न तय भएपछि ३ महिनामा ७ लाख रुपैयाँ संकलन गरेको थियो। १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५ हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेन्ट गरिएको कार्कीले जानकारी दिनुभयो।
धर्म, संस्कृति प्रवद्र्धन मूल उद्देश्यसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्सवको लक्ष्य रहेको कार्कीले बताउनुभयो। यज्ञ सम्पन्न गर्नका लागि यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रष्टी, डोनरहरू समेटिएको बृहत् आयोजक समिति बनेको छ। जसको संयोजकमा घनप्रसाद दवाडी र सह-संयोजकहरूमा नारायण पोखरेल, बिष्णु घले, पशुपति कँडेल, मुकुन्द दवाडी, केपी ढकाल, भीम थापा, लाक्पा शेर्पा हुनुहुन्छ। त्यसैगरी बोर्ड अफ ट्रष्टी र केही समाजसेवीहरू रहेको सल्लाहकार समिति बनाइएको छ। जसको संयोजकमा दिक्पाल केसी हुनुहुन्छ।
करिब १० हजार ८ सय वर्गफिटको भवन छ। सुविधा सम्पन्न मुख्य सभाकक्ष ५ सय २८ जना क्षमताको छ। २ सय सिटको क्याफेटेरिया, ६ वटा अफिस कोठा छन्। भान्सा तथा अन्य स–साना स्टोर कोठाहरू र शौचालय छन्। ५४ हजार वर्गफिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छ।