न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क, म्यानह्याट्टनमा सम्पन्न आठौं “नेपाल डे परेड २०२५” मा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल डे परेड समितिले कृष्ण आचार्यलाई “आईकन अफ दि नेपाल डे परेड २०२५” उपाधिबाट सम्मानित गरेको छ।
नेपाल डे परेड सम्बन्धी बसेको टाउनहल मिटिङले आचार्यलाई आर्थिक संयोजकको जिम्मेवारी दिएको थियो। उनले उक्त जिम्मेवारी सहर्ष स्वीकार गर्दै करिब ३६ हजार अमेरिकी डलर संकलन गरी कार्यक्रमलाई भव्य र सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। यसै योगदानका आधारमा नेपाल डे परेड २०२५ का अध्यक्ष छिरिंग शेर्पाले गत जुन १, २०२५, आइतबार साँझ क्विन्सको ज्याक्सन हाइट्समा आयोजित एप्रीसिएसन नाइट कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालको तर्फबाट सहायक स्थायी प्रतिनिधि कौशल किशोर रायको हातबाट आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो।
कृष्ण आचार्य नेपाल डे परेड २०२५ का आर्थिक संयोजकका साथै लायन्स क्लब अफ क्विन्स बुद्ध, न्युयोर्कका चार्टर्ड अध्यक्ष र जमैका नेपाली समाजका अध्यक्षसमेत हुन्। उनी न्युयोर्कको नेपाली समुदायमा विगत दुई दशकदेखि समाजसेवा र सामाजिक रुपान्तरणका क्षेत्रमा सक्रिय योगदान दिँदै आएका छन्।
परेडका आयोजक NRNA New York State Chapter का अध्यक्ष छिरिंग शेर्पा र प्रमुख अतिथि कौशल किशोर रायले संयुक्त रूपमा आचार्यलाई उक्त सम्मान प्रदान गरेका थिए।