काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ को विमोचन गर्नुभएको छ । बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गर्नुभयो ।
नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालीन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा घटेको सत्य घटनालाई आधार बनाई लेखिएको अनुसन्धानात्मक पुस्तक हो । यो पुस्तक श्रीराम श्रेष्ठको २८ औँ कृति हो ।
वि.सं २०३१ सालमा नुवाकोटको विदुरमा जन्मिएका श्रेष्ठले नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक कृति, जापानी साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजोजस्ता विधाका दर्जनौं कृति प्रकाशित गरिसक्नुभएको छ ।
श्रेष्ठ नेपाली कांग्रेस नुवाकोट जिल्लाका सचिव समेत हुनुहुन्छ ।