काठमाडौँ-लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा डा दयाराम श्रेष्ठ, प्रा डा गोविन्दराज भट्टराई, समालोचक डा अशोक थापा, अनुपमा रेग्मी तथा ज्ञानबहादुर क्षेत्रीले संयुक्त रूपमा कथासङ्ग्रह ‘सत्यम्’ को विमोचन गर्नुभएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकाले कृतिको सङ्ख्या थपिनुमात्र नभई उत्कृष्ट कृति भएको बताउनुभयो । उक्त कृतिले नेपाली साहित्य जगत्मा नयाँ छाप छोड्नसक्ने उहाँको भनाइ थियो ।
वरिष्ठ साहित्यकार प्राडा भट्टराईले नेपाली साहित्यमा एक प्रखर र उत्कृष्ट कथासङ्ग्रहका रूपमा सत्यम् आएको बताउनुभयो । समाचोलक डा थापाले पत्रकारिता पेसामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उहाँको कथाकृतिमा झल्किने गरी उतारेको बताउनुभयो । असत्यले सत्यलाई छायाँमा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उद्घाटित गर्नु कथाकृति सत्यम्को विशेषता रहेको उहाँको भनाइ थियो ।
समालोचक रेग्मीले वियोगीको कथाकृति ‘सत्यम्’मा विगतको माओवादी द्वन्द्व, स्थानीय भाषिकाको प्रयोग, पश्चिमेली लोकगीत तथा संस्कृति, प्रेम, पर्यावरणजस्ता विषयको मिहिन भावसहितको चित्रण भएको बताउनुभयो । “माओवादी द्वन्द्वका कारण दिनभर काम गरेर थाकेका स्थानीय गाउँलेहरू राति रोधीमा गाउँदै नाच्दै रमाउने समाजको तत्कालीन परिदृश्यमा पूरै परिवर्तन आएको चित्रण छ”, उहाँले भन्नुभयो । समग्रमा कथाकृतिले नयाँ शैली अगालेको रेग्मीको भनाइ थियो । समालोचक क्षेत्रीले वियोगीको बहुविधात्मक प्रतिभा अहिले कथामार्फत प्रस्फुटित भएको धारणा राख्नुभयो ।
कथाकार वियोगीले आफूले शिक्षण छाडेर पत्रकारिता पेसा सुरु गर्दैगर्दा आफूलाई अवसर दिने, मार्गनिर्देश गर्ने तथा अग्रज गुरुहरूकै कारण आफूले अहिले कथाकृति तयार गर्न सकेको बताउनुभयो । “म कथाकार वा लेखक बनुँला÷नबनुँला, सबैभन्दा ठूलो कुरा धेरैले मलाई माया गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु, मैले सत्यम्लाई होइन, सत्यम्ले मलाई चिनाइदिए पुग्छ”, उहाँले भन्नुभयो ।
साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका वियोगीको यो पहिलो कथासङ्ग्रह हो । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिकलगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । पेज टर्नर प्रालिले प्रकाशन गरेको १५ कथा सङ्ग्रहित कृतिको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ ।