नेपालीहरू काम गर्न विदेश जान्छन्। यहाँ काम नभएको भन्दै उनीहरू भारतसहित विभिन्न मुलुक गइरहेका छन्। तर, भारतीयसहित अन्य देशका नागरिकहरू कामका लागि नेपाल आइरहेका छन्। नेपालमा सबैभन्दा धेरै भारतीय कामदार देखिन्छन्। कपाल काट्ने, फलफूल बेच्ने, कबाडी संकलन गर्ने, वर्कसपमा मिस्त्री काम गर्ने, कपडा बेच्ने, किराना पसल खोल्ने, घर निर्माण गर्ने लगायतका काम भारतीयले गरिरहेका छन्।
राजधानीमा मात्र होइन, गाउँदेखि शहरसम्म छ्याप्छ्याप्ती भारतीय देखिन्छन्। काम गर्ने मात्र नभई सडक, आकाशे पुल, मठमन्दिर, सार्वजनिक स्थलमा माग्न बसेकामध्ये धेरै भारतीय नै छन्। नेपालमा भएका ठूला व्यापार–व्यवसायहरूमा मारवाडीहरूको लगानी छ। बैंक तथा वित्तीय संस्था, ठूल्ठूला कम्पनीहरू पनि मारवाडीका छन्। नेपाल र भारतको सीमाना खुला भएकाले भारतीयहरू कुनै प्रक्रियाबिनै यहाँ काम गर्न आउँछन्।
अन्य देशका नागरिकहरू भने श्रम स्वीकृति लिएर काम गर्न नेपाल आउँछन्। जसमा सर्वोच्च स्थानमा चिनियाँ रहेका छन्। नेपालमा नेपाली नहुँदा पछिल्लो समय विदेशीहरू बढी देखिन थालेका छन्। २०४६ सालपछि नेपालमा एउटा सन्तान जन्माउने प्रचलन आएको छ। एउटा सन्तान जन्माउने, त्यो पनि विदेश पठाउने। जसका कारण नेपालमा नेपाली छैनन्, अन्य देशका नागरिक छन्।
अहिलेका युवामा विवाहप्रति पनि कुनै रुचि छैन। यसले गर्दा जनसंख्यामा ठूलो असर परेको छ। ३०–३५ वर्षसम्म युवायुवती नै विवाह गर्दैनन्, विवाह गरे पनि बच्चा जन्माउँदैनन्। पहिलेपहिले सानै उमेरमा विवाह गरिन्थ्यो। उनीहरूको पाँचदेखि १२ जनासम्म सन्तान हुन्थे। ती सन्तानले नेपालमै कुनै काम गर्थे, आफ्नो भूभागको संरक्षण गर्थे। पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि नेपालमा नेपाली टिक्न सकेनन्।
जनता सबैजना विदेश पुगे। यता, सरकारले पनि ‘दुई सन्तान, सुखी परिवार’को नीति ल्यायो। विवाह गर्न पनि २० वर्ष पुग्नुपर्ने नियम बन्यो। जसका कारण मुलुकको जनसंख्यामा ठूलो धक्का पुग्यो। जन्मदर निरन्तर ओरालो लागिरहेको छ। विवाह गर्न २० वर्ष पुग्नुपर्नेमा विदेश जान भने १८ वर्ष पुगे पुग्यो। सरकारको द्वैध चरित्र यहीँबाट पुष्टि हुन्छ।
भारतको नीति नेपाल सरकार र नेपाली सञ्चारकर्मीले कहिल्यै बुझेनन्। भारतको नीति नै जसरी भए पनि नेपालबाट नेपाली हटाउने हो। नेपालका उद्योग–कलकारखाना बन्द गर्ने, एउटा–दुईवटा सन्तान जन्माउन नदिने, त्यो पनि विदेश पठाउने अनि आफ्ना जनता ल्याएर यहाँ राज गराउने। भारत त आफ्नो योजनामा सफल भइसकेको छ। नेपालीलाई विदेश पठाएर यहाँ सबै व्यापार व्यवसायमा उनीहरूले हस्तक्षेप गरेका छन्।
अहिले त बुवाआमाले भएको एउटा सन्तान पनि विदेश पठाएका छन्, ऊ पनि जिउँदो फर्कन्छ कि बाकसमा भन्न सकिन्न। नेपालबाट नेपालीलाई लखेट्ने योजना भारतको भए पनि सरकारले त्यसमा पूर्ण सहयोग गर्यो। भारतले जसोजसो भन्यो, त्यसै गर्दै गर्यो। भारतकै निम्ति आफ्ना सबै उद्योग–कलकारखाना बन्द गर्यो। यहाँ केही उत्पादन नभएपछि सबै सामान भारतबाट आयात गर्नुपर्छ।
किराना पसल खोलेर ती सामान बेच्ने पनि भारतीय नै हुन्। भारतले नेपालको धेरै भूभाग कब्जा गरिसकेको छ। अब नेपाल कब्जा गर्ने मात्रै बाँकी छ। नेपाली जति हटाएर भारतले आफ्नो बाटो खाली गरिसकेको छ, तर सरकारले अझै पनि त्यो कुरा बुझ्न सकेको छैन। २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ। एक करोडभन्दा बढी जनसंख्या अन्य देशमा छ, रोजगारी र शिक्षाका लागि।
अधिकांश नेपालीले नेपाली नागरिकता त्यागेर त्यो मुलुकको नागरिकता लिएका छन्। उनीहरू अब त्यहीँको नागरिक भइसकेका छन्। नागरिकता पाउने मुलुकमा पुगेका नेपालीहरूले यहाँ भएको सम्पत्ति बेचेर लगिसकेका छन्। अब उनीहरूलाई यहाँ के हुन्छ? कुनै सरोकार नै हुँदैन। देशमा जनसंख्या घट्दै गएको छ, तर सरकारलाई कुनै चासो छैन। ‘विवाह गरेर के नै हुन्छ र?’ भन्ने मानसिकताबाट जनता ग्रसित छन्।
सरकारले जनताको दिमागबाट त्यो कुरा हटाउन कुनै प्रयास गरेको छैन। सरकारले विवाह गर्नका लागि जनतालाई प्रोत्साहन गर्न सकेन। सन्तान पाल्न गाह्रो हुन्छ भनेर जनता वैवाहिक बन्धनमा बाँधिन रुचि देखाइरहेका छैनन्। सरकारले त्यसमा वास्ता गरेको छैन। नेपालीलाई विदेश पठाएर सरकारले बाहिरी देशका मानिस ल्याएर यहाँ व्यापार व्यवसाय गराइरहेको छ।
उनीहरूले बजारमा कब्जा गरेर पैसा आफ्नो देशमा लगिरहेका छन्, नेपाल सरकार हेरेको हेर्यै छ। अझै पनि सरकारले भारतको रणनीति बुझ्न सकेको छैन। नेपालमा नेपालीलाई रित्तो बनाएर आफ्नो नागरिक यहाँ राख्ने भारतको योजना देखिन्छ। सरकारले यसमा सचेत हुन आवश्यक छ। नेपालमा लाखौंको सङ्ख्यामा भारतीय छन्। भोलि भारतले नेपालमा हस्तक्षेप गर्न खोज्यो भने ती भारतीयले आफ्नो रुपमा देखाइहाल्छन्।
देशको सुनदेखि नुनको व्यापारसम्म भारतको कब्जामा गइसकेको छ। अनि सरकार अझै पनि टुलुटुलु रमिता हेरेर बसेको छ। नेपालले नेपाली नेतालाई भूमिगतको समयमा त्यत्तिकै पालेको होइन रहेछ। लड्नका लागि सित्तैमा हतियार दिएको होइन रहेछ। उनीहरूको नीति भित्रभित्रै नेपाल सिध्याउने रहेछ। घर नेपालीको छ, तर भाडामा बस्ने भारतीय छन्।
प्रायः प्रत्येक नेपालीको घरमा भारतीयको बसोबास देखिन्छ। आफ्नो घरमा अर्का देशका नागरिक राखेर घरधनीले आफ्नो सन्तानचाहिँ विदेश पठाएको छ। भोलि केही कारणले नेपाल र भारतको सम्बन्ध बिग्रियो भने भारतले सहजै नेपाल कब्जा गर्न सक्छ। नेपाल सरकारले भारतीयलाई आफ्नै सन्तानजस्तै पालिरहेको छ।
नेपाल सरकार यति निरीह छ कि विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काउन सक्दैन। सन्तान जन्माउन प्रोत्साहन पनि गर्दैन। विदेश नजाऊ भन्न पनि सक्दैन। अनि भारतीय ल्याएर पाल्ने। कतै देशका नेतृत्वहरूको भारतीय नागरिकता त छैन? गम्भीर प्रश्न उठेको छ। केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतले राष्ट्रियताको कुरा गर्नु भनेको जनताको आँखामा छारो हाल्नु हो।
नेपाली जति विदेश पठाएर भारतीय ल्याउनेले राष्ट्रियताको कुरा गर्न सुहाउँछ? खेतीपातीले खान नपुगेपछि र रोजगारीका लागि नेपाली शहर छिरे। शहर पनि सोचेको जस्तो नभएपछि नेपाली विदेश गए। अहिले गाउँ पनि खाली भयो, शहर पनि। नेपाली रित्तिए पनि भारतलाई सहज भएको छ। देशको कुनाकुनामा भारतीय पुगेका छन्। जनसंख्या जति बढ्यो, राज्यलाई त्यति नै फाइदा हुन्छ।
नागरिकले काम गर्छ, राज्यलाई राजस्व आउँछ। जनताले देशको भूभागको रक्षा गर्छन्। तर, सरकारको सोच त्यसतर्फ गएको छैन। पछिल्लो समय नेताहरूले नै विवाह गर्न छोडेका छन्। त्यसले पनि जनतालाई विवाह नगर्न मलजल गरिरहेको छ। सरकारले त्यसबाट भविष्यमा हुन सक्ने क्षतिलाई बेवास्ता गरिरहेको छ। जनता पनि त्यस्तै छन्। विवाह नगर्नेहरूलाई त्यागी नेता भन्छन् जनता।
भोट दिएर उसलाई नेता बनाउँछन्। जसले श्रीमती पाल्ने आँट गर्दैन, उसले देश बनाउने हिम्मत राख्छ। सबैभन्दा ठूलो जनता हुन्। जनता नभई राज्यलाई कर पनि आउँदैन, देशको भूभागको रक्षा पनि हुँदैन, निर्वाचनमा मत पनि आउँदैन। नेपालीहरू खाइ–नखाइ छोराछोरी बोर्डिङ स्कुलमा पठाउँछन्। त्यत्रो दुःख गरेर पढाएका छोराछोरीले अर्काको देशका लागि काम गर्छन्, अर्काको देश विकास गर्छन्।
भारतीयहरू बिना पढाइलेखाइ यहाँ आएर बिना लगानी महिनाको लाखौं कमाउँछन्। त्यो पैसा भारत दौडाइरहेका छन्। अब भनौं, ‘हामी नेपाली कहाँ छौँ, हाम्रो बुद्धि कहाँ छ? नेपाल सरकारसँग भिजन छ?’
अनुसा थापा, भक्तपुर