२०८४ सालको चुनावमा मुलुककै पहिलो पार्टी बन्ने लक्ष्यसहित केही वर्षअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देश दौडाहामा निस्किएको थियो। तर अहिले लामिछाने सहकारी ठगीको आरोपमा जेलमा छन्। एमाले पनि ०८४ मा बहुमत ल्याउन देश दौडाहामा लागेको थियो।
यद्यपि, कांग्रेससँग मिलेर सरकार गठन गरेपछि एमालेको देश दौडाहा रोकिएको छ। वर्तमान सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनी सरकारबाट हट्नासाथ आफैंसमेत जेल जान सक्छन्। किनकि झापाको गिरिबन्धु टी स्टेट प्रकरण कसैबाट लुक्न सकेको छैन। यतिमात्र होइन, एमालेका ठूलाबडा जेल जानेछन्।
सबैले सरकारी, सार्वजनिक, गुठी, ऐलानी जग्गा हडपेका छन्। भ्रष्टाचार गरेका छन्। त्यसैले, पुराना फाइल खोल्नासाथ जेलमा एमालेहरूको लर्को लाग्ने छ। अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चाहिँ देश दौडाहामा छन्। ०८४ को निर्वाचनमा पहिलो पार्टी बन्ने उनको लक्ष्य छ।
तर, ०८४ सम्म प्रचण्ड बाहिर रहन्छन् कि जेलभित्र ? अन्यौलता छ। जनयुद्धको नाममा १७ हजार जनताको बलि चढाउने उनी पनि छिट्टै कानुनी दायरामा आउने बताउन थालिएको छ। रौतहटको गौरमा साढे दुई दर्जन मारिएको घटनामा जसपा अध्यक्ष उपेन्द्र यादव पनि जेल जान सक्नेछन्। टिकापुर हत्याकाण्डमा राष्ट्रपतिबाट आममाफी पाएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी छुटेपनि सो विरुद्ध अदालतमा परेको मुद्दा विचाराधीन छ।
अदालतले उनको आममाफी खारेज गरेर फेरि जन्मकैदको सजायलाई सदर गरिदिने सम्भावना बलियो छ। किनकि केही वर्षअघि मात्र सर्वोच्चले जन्मकैदको सजायमा राष्ट्रपतिबाटै आममाफी पाएका कांग्रेसमा आबद्ध रिगलको समेत आममाफी खारेज गर्दै जन्मकैदको सजाय सदर गरिदिएको थियो।
यतिमात्र होइन, माओवादी सांसद अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्या मुद्दा डेढ दशकअघि मन्त्रिपरिषद्ले तामेलीमा राखेकोमा अहिले सर्वोच्चले सुनुवाइ गर्दै उनीमाथि अनुसन्धान गर्न आदेश दिइसकेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि सर्प प्रकरण तथा सरकारी, सार्वजनिक जग्गा व्यक्तिको नाममा लगेको कसुरमा जेल जान सक्नेछन्।
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। यो त शुरुवात मात्रै हो। किनकि उनले प्रधानमन्त्री हुँदा व्यक्तिगत लाभका लागि राज्यलाई हानी पुर्याउने थुप्रै निर्णय गरेका थिए। ललिता निवास जग्गा प्रकरणदेखि अन्य विभिन्न ठाउँको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा उनको संलग्नता भेटिन्छ।
माधवसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि जेल जानसक्ने सम्भावना अधिक छ। ललिता निवास प्रकरणमा उनको पनि संलग्नता रहेको छर्लङ्ग छ। थानकोटको मातातीर्थको हजारौं रोपनी सरकारी जग्गासमेत उनले व्यक्तिको नाममा दर्ता गराएको आरोप छ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जान सक्छन्।
उनीहरूसँगै कांग्रेसका धेरै नेताहरू यो प्रकरणमा जेल जान सक्छन्। यतिमात्र होइन, सहकारी ठगीमा कांग्रेसका सांसद तथा नेताहरूको संलग्नता देखिन्छ। उनीहरू जुनसुकै बेला पनि पक्राउ पर्न सक्छन्। भक्तपुर क्षेत्र नम्बर १ र २ का सम्पूर्ण सरकारी, सार्वजनिक, ऐलानी, गुठीका जग्गा मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र सांसद प्रेम सुवालसहितको मिलेमतोमा कार्यकर्ताहरूको नाममा लगिएको छ।
०२८ सालमा गरिएको नापीका क्रममा सल्लाघारी, आर्मी ब्यारेक, दुवाकोट र सिर्जनानगरको जग्गा ऐलानी भनिएकोमा मजदुरका कार्यकर्ताहरूले कब्जा गरेर ठूल्ठूला घर बनाएका छन्। यसमा सहयोग गर्ने चाहिँ बिजुक्छेँ र सुवाल हुन्। भक्तपुरमा जतिपनि सरकारी, सार्वजनिक जग्गा थिए, ती यिनीहरुकै मिलेमतोमा व्यक्तिको नाममा लगिएको छ। अख्तियारले छानबिन गर्नासाथ बिजुक्छेँ र सुवाल यो प्रकरणमा जेल जाने निश्चित छ।
हरेक राजनीतिक दलका नेतृत्व र नेताहरू कुनै न कुनै प्रकरणमा वा अनैतिक गतिविधिमा मुछिएका छन्। केही गरी उनीहरू माथि अनुसन्धान भए पनि जेल जाने पक्का छ। अनि नेताहरू जेल भएपछि ०८४ सालमा निर्वाचन कसरी हुन्छ त? अहिले बजारमा ०८४ सालमा चुनाव हुँदैन भन्ने हल्ला चलेको छ। जनता भन्छन्, ‘चुनाव भए पनि यस्ता ठग, शोषकहरूलाई भोट दिनु हुँदैन।’
दलहरूले नै देशको भूभाग छिमेकीलाई बेचे। आफ्नो स्वार्थ पूरा गर्न नेपालको थुप्रै भूभाग नेताहरूले नै भारत र चीनलाई बेचे। अहिले जनताले पनि यो राम्ररी बुझेका छन्। यतिमात्र नभई देशै धितो राखेर विदेशीबाट २७ खर्ब ऋण ल्याएका छन्। ऋणमा मोजमस्ती गर्ने नेता, अनि आर्थिक भार थपिने चाहिँ जनतामा! देश ऋणै ऋणमा छ। निर्माण व्यवसायीको ४५ अर्ब, दूध तथा उखु किसानको सात अर्ब र कोरोना बीमाको २४ अर्ब भुक्तानी दिन बाँकी छ। यद्यपि, यो तिर्न सरकारसँग पैसा छैन।
राज्य कंगाल बनेको छ। ढुकुटी रित्तो भएको छ। अहिलेसम्म त विदेशीसँग ऋण लिएर सरकारले देश चलाइरहेको छ। अनि विदेशीले पनि ऋण दिन छोडेपछि सरकारले के गर्छ? कसरी खर्च धान्छ? किनकि मुलुकभित्र त अब राजस्व उठ्ने कुनै छाँटाकाँट देखिँदैन। अब जनता र सञ्चारमाध्यमले एउटा कुरा राम्ररी बुझ्नुपर्छ कि नेताहरूले अझै देश विकास गर्छु भन्नु भ्रम मात्रै हो।
नेताहरूले देश विकास गर्ने होइन, देश सिध्याइसकेका छन्। यदि विदेशीको २७ खर्ब ऋण नतिरेमा नेपालमाथि विदेशीले कब्जा गर्नेछन्। अहिले नै मुलुकमाथि विदेशी हस्तक्षेप बढ्दै गएको छ। नेपाल संकटमा परिसकेको छ। र, देशलाई यो अवस्थामा पुर्याउने यी दल र नेताहरू नै हुन्। त्यसैले, अझै पनि नेताहरूको झुटा भाषणमा जनताले ताली पिट्ने हो भने त्योभन्दा मूर्खता अरू केही हुन सक्दैन।
सञ्चारमाध्यमहरूले पनि नेताहरूको हावादारी भाषणलाई प्राथमिकता दिने होइन। देशको वास्तविक अवस्था बाहिर ल्याउने हो। देश कुन अवस्थामा छ? भनेर सञ्चारमाध्यमहरूले जनतालाई यथार्थ देखाइदिनुपर्छ। यसो गरिएमा जनताको आँखा खोलिने छ। नेताहरूको भ्रमको खेतीको अन्त्य हुने छ। यदि सञ्चारमाध्यमले छिट्टै सत्यतथ्य बाहिर ल्याएमा देश जोगिन सक्छ। भनिन्छ, समय फर्केर आउँदैन।
सञ्चारमाध्यमहरूले अहिले नै जनतालाई सतर्क गराइदिए देश ठूलो दुर्घटनाबाट बच्न सक्छ। तर, दलको झोले बनेर बसेमा पछि केही पनि गर्न सकिँदैन। दल कि देश ठूलो? अब जनता र सञ्चारकर्मीहरूले छुट्याउनुपर्छ। अनि मात्र देश जोगिन र देशमा केही हुन सक्नेछ।
रुषा थापा, भक्तपुर