नेपाल परिवार दलले संघीय संसदमा पेश भएको बजेटलाई जिम्मेवार र यथार्थपरक ठहर गर्दै स्वागत — OSNepal

नेपाल परिवार दलले संघीय संसदमा पेश भएको बजेटलाई जिम्मेवार र यथार्थपरक ठहर गर्दै स्वागत

Kesh Karki (USA) June 10, 2025 0

काठमाडौं — नेपाल परिवार दलले संघीय संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई जिम्मेवार तथा यथार्थपरक भएको ठहर गर्दै स्वागत गरेको छ।

शनिबार बसेको दलको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अर्थतन्त्रको समस्या समाधान गर्न बजेटले आर्थिक अनुशासनभित्र रहेर प्रयास गरेको उल्लेख गर्दै बजेटले व्यवसायीलाई प्रोत्साहन गर्ने र यसको प्रभावकारी कार्यान्वयनले देशमा सुशासन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

बैठक नेपाल परिवार दलका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालको अध्यक्षतामा बसेको थियो। बैठकले वर्षायाम सुरु भएसँगै आपतकालीन रुपमा आउन सक्ने बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपदको सामना गर्न पूर्वतयारी गर्न, कृषकलाई मल र बीउ सहज रुपमा उपलब्ध गराउन, सार्वजनिक यातायातमा यात्रुहरूलाई सहज यात्राको व्यवस्था मिलाउन, सार्वजनिक काममा हुने ढिलासुस्ती हटाउन र सुशासनको एजेन्डालाई थप प्रभावकारी रूपमा अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

बैठकले दलका अध्यक्ष एकनाथ ढकाललाई अप्रिल ११, २०२५ मा दक्षिण कोरियाको राजधानी सिउलमा सम्पन्न ‘विश्वभरिका सभामुखहरूको बैठक’बाट ‘इन्टर–पार्लियामेन्टरी स्पिकर्स कन्फरेन्स’ (ISC) को महासचिव जस्तो गरिमामय पदमा मनोनयन हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

त्यसैगरी बैठकले मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद उल अज्हा) को अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ।

बैठकमा संविधान सभा सदस्य मिलन कुमारी राजबंशी, वरिष्ठ उपाध्यक्ष बिनोद डागी, महामन्त्री सन्तोषकुमार पौडेल, कोषाध्यक्ष गोविन्दनाथ मिश्र, प्रवक्ता रूपसिंह भण्डारीलगायतका नेताहरूको सहभागिता रहेको दलका महासचिव सन्तोषकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर