पोखरामा रेष्टुरेन्टका कुकलाई खाना पकाउने सीप स्तरोन्नति तालिम — OSNepal

पोखरामा रेष्टुरेन्टका कुकलाई खाना पकाउने सीप स्तरोन्नति तालिम

Kesh Karki (USA) June 11, 2025 0

पोखरा । पोखराको लेकसाइड क्षेत्रका विभिन्न रेष्टुरेन्ट र क्याफेमा कार्यरत कुकहरूको खाना पकाउने सीप वृद्धि गर्न पोखरामा तालिम सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्वेटासको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा ४० जना कुकहरू सहभागी भएका छन् । उनीहरूलाई भारतीय (इन्डियन) र महाद्वीपीय (कन्टिनेन्टल) परिकारहरू बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जनाएको छ ।

तालिम उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई गुणस्तरीय र स्वादिष्ट खाना पस्किन तालिम उपयोगी हुने बताए । उनले तालिमबाट व्यक्ति, संस्था र देशले नै फाइदा पाउने उल्लेख गर्दै तालिमपछि इमान्दारीता देखाउन आवश्यक रहेको सुझाव दिए ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले तालिमले कुकहरूलाई अझ दक्ष बनाउँदै स्तरीय सेवा दिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले तालिमपछि व्यावसायिक रेष्टुरेन्टमा गुणस्तरीय खाना सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल, रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतम, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा सीप विकास इकाइका फोकल पर्सन सञ्जिवबहादुर कोइरालालगायतले तालिमले खानाको गुणस्तरीयता बढाउने बताए ।

उनीहरूले विदेशमा कम जनशक्तिले पनि धेरै काम गर्ने प्रवृत्तिको उदाहरण दिँदै तालिमपछि कुकहरूले राम्रो सेवा दिन सक्नेमा विश्वास व्यक्त गरे ।

तालिमपछि सहभागीहरूले बटर चिकन, बिर्यानी, पनीर टिक्का जस्ता इन्डियन परिकारहरू र पास्ता, सिज्लर, स्टेक जस्ता कन्टिनेन्टल परिकारहरू बनाउने सीप आर्जन गर्नेछन् । तालिममा अनुभवी शेफ दीपक शर्मा, विजय पौडेललगायतले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर