काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरूको आवश्यकता, महत्व र माग अत्यधिक रहेको बताउनुभएको छ । पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले दिवंगत प्रमुख संस्थापक स्व. तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उहाँले दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दै गएको र दन्त चिकित्सकहरूको भूमिका अझ महत्वपूर्ण हुँदै गएको बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकहरूको माग अत्यन्तै उच्च छ । सरकारले यस विषयमा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ ।”
स्व. बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्री यादवले उहाँले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्य गर्नुभएको र उहाँको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दन्त स्वास्थ्य सेवाका लागि बज्राचार्यको योगदान ठूलो छ । उहाँको सपना साकार पार्न र नेपाली नागरिकलाई सहज र सुलभ सेवा प्रदान गर्ने कार्यमा कलेज र यहाँका विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहनेछ ।”
कार्यक्रमका विशिष्ट अतिथि एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रशाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले एमबिबिएस अध्यापनका लागि भौतिक पूर्वाधार तयार भए पनि अनुमति प्रक्रिया अझै अघि नबढेको गुनासो गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, पिपल्स डेन्टल कलेजका अध्यक्ष विद्याभूषण बज्राचार्य, सेयर होल्डर शहनशीला बज्राचार्य, प्रबन्ध निर्देशक रोशन लुइँटेल, प्राचार्य प्रा.डा. सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थी तथा स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले दिवंगत बज्राचार्यको योगदानको चर्चा गर्दै नेपालमा दन्त स्वास्थ्यको वर्तमान अवस्था र सुधारका उपायहरूबारे धारणा राख्नुभएको थियो ।