पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमका सहभागी महिला पत्रकारहरूलाई शुभकामना दिँदै मन्त्री थापाले यस तालिमले पत्रकारहरूको दक्षता र प्रविधि पहुँचलाई सुदृढ गर्ने विश्वास व्यक्त गरे । उनले भने, “आजको डिजिटल युगमा सूचनाको बहुआयामिक प्रस्तुति अपरिहार्य भइसकेको छ, र यस्तो तालिमले त्यसलाई सशक्त बनाउँछ भन्नेमा म विश्वस्त छु ।”
मन्त्री थापाले गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयलाई थप सुदृढ गर्दै प्रेस दर्ता, नवीकरण तथा प्रतिनिधि प्रमाणपत्र वितरण प्रक्रिया अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी बनाइने जानकारी गराउँदै यसले सञ्चारमाध्यम तथा पत्रकारहरूलाई समयमै सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्ने बताए ।
उनले भने, “श्रमजीवी पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने तथा सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले नयाँ सञ्चारसम्बन्धी कानून निर्माण प्रक्रिया अघि बढाइएको छ, जसले पत्रकारको हक, हित र सुरक्षालाई अझ मजबुत बनाउने विश्वास लिएको छु ।”
उनले अनुसन्धानमूलक, तथ्यमा आधारित तथा विकासमुखी पत्रकारितालाई प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै पत्रकार लेखनवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रकारको हकहित र अधिकारका लागि कार्यालयले काम गरिरहेको बताइन् । उनले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमहरूको व्यवस्था गर्दै दक्षता वृद्धि गरिने जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघ केन्द्रकी उपाध्यक्ष नीतू पण्डितले श्रमजीवी पत्रकारहरूको अधिकार सुनिश्चित गर्ने कानून ल्याउनुपर्नेमा जोड दिँदै महासंघले त्यसका लागि निरन्तर वकालत गरिरहेको बताइन् ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले आगामी बजेटमा प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई समुचित प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
महासंघकी महासचिव जमुना वर्षा शर्माले तालिममा गण्डकीका ११ वटै जिल्लाका महिला पत्रकारहरूको उपस्थिति रहेको जानकारी दिँदै महिला पत्रकारलाई लक्षित गरी मल्टिमिडिया तालिम सञ्चालन गरिएको बताइन् ।