एनआरएनए यूके अध्यक्षको दाबीप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण — OSNepal

एनआरएनए यूके अध्यक्षको दाबीप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण

Kesh Karki (USA) June 11, 2025 0

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बेलायत निवासी प्रेम बहादुर गाहा मगरद्वारा आफूलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूकेको अध्यक्ष भएको दाबी गर्दै सार्वजनिक रूपमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ग्लोबल टेलिभिजनको ‘तक्षशिला’ कार्यक्रममा सञ्चालक प्रकाश गिरिसँगको अन्तर्वार्तामा गाहा मगरले आफूलाई एनआरएनए यूकेको अध्यक्ष भएको दाबी गरेका थिए । सोही हैसियतमा व्यक्त गरिएका अभिव्यक्तिप्रति गैरआवासीय नेपाली संघले असन्तुष्टि जनाएको हो ।

संघका अनुसार श्री गाहा मगरले संघको विधान तथा नीति–नियम विपरीत कार्य सञ्चालन गरेकाले मिति २०७९ भदौ २८ गते (१३ सेप्टेम्बर २०२२) उहाँलाई अध्यक्ष पदबाट औपचारिक रूपमा पदमुक्त गरिएको थियो । त्यसपछि उहाँ कुनै पनि आधिकारिक पदमा नरहेको संघले स्पष्ट पारेको छ ।

गैरआवासीय नेपाली संघले २०२३–२०२५ कार्यकालका लागि निर्वाचन मिति २०८० श्रावण ६ गते (२२ जुलाई २०२३) सम्पन्न गरी हितकाजी गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको उल्लेख गर्दै हाल वैधानिक रूपमा उहाँ नै अध्यक्ष रहेको जनाएको छ ।

“अध्यक्ष पदमा नरहेका व्यक्तिबाट सोही पदको नाममा सार्वजनिक रूपमा अभिव्यक्ति दिनु संघको आन्तरिक प्रक्रिया, संस्थागत मर्यादा र विश्वसनीयतामाथि गम्भीर आघात पुर्‍याउने कार्य हो,” विज्ञप्तिमा भनिएको छ, “यस्ता गैरजिम्मेवार अभिव्यक्तिहरूले संस्थाको छवि धूमिल बनाउनुका साथै भ्रम मात्रै सिर्जना गर्छन् ।”

संघले गाहा मगरद्वारा व्यक्त गरिएका दाबीहरूलाई ‘कुन्ठा प्रेरित व्यक्तिगत धारणा’ मात्र भएको स्पष्ट पार्दै यस्ता अनधिकृत अभिव्यक्तिहरू संघको औपचारिक प्रतिनिधित्व नगर्ने जनाएको छ ।

अन्त्यमा, गैरआवासीय नेपाली संघले यस्ता कार्यहरू दोहोरिन नदिन सबै पक्षलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दै श्री गाहा मगरलाई पनि गम्भीरतापूर्वक सचेत गराएको जनाएको छ ।

विज्ञप्तिमा गैरआवासीय नेपाली संघका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रकाशन समितिका संयोजक फणिन्द्र पन्तले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर