काठमाडौं — बालगायिका परिधी खतिवडाको स्वरमा सजिएको प्रेरणादायी बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कक्षा ४ मा अध्ययनरत परिधी खतिवडाले गाएको यस गीतमा बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश समेटिएको छ।
काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता तथा सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद खतिवडाले लेखेका हुन्। प्राविधिक पेसामा आबद्ध भए पनि साहित्य र संगीतप्रतिको गहिरो रुचि राख्ने प्रमोद खतिवडाका यसअघि पनि थुप्रै भावनात्मक र सन्देशमूलक गीतहरू सार्वजनिक भइसकेका छन्।
गीतमा सविन लिम्बूले संगीत र एरेञ्जमेन्ट गरेका छन्, जसले परिधीको बालस्वरलाई भावनात्मक गहिराइ दिएको छ। भिडियो निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका छन् भने छायांकन परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा गरिएको छ।
‘घरकी फूलबारी’ गीतमा बाल मनोविज्ञान, पारिवारिक प्रेम र देशप्रतिको माया गहिरो रूपमा अभिव्यक्त गरिएको छ। सरल शब्द, मिठो धुन र बाल आवाजको संयोजनले यस गीतलाई भावनात्मक र राष्ट्रिय चेतनाले भरिएको बनाएको छ। गीतले बालबालिकामा सामाजिक सद्भाव, देशप्रेम र परिवारप्रतिको जिम्मेवारीबोध उजागर गर्ने विश्वास गरिएको छ।
यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन र चित्रकलालगायत विविध प्रतिभाले भरिएकी परिधीको बहुपक्षीय क्षमता यस गीतमार्फत पुनः उजागर भएको छ।
‘घरकी फूलबारी’ Paridhi Khatiwada नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले बाल स्वर, सन्देशमूलक प्रस्तुति र राष्ट्रिय भावनाको संयोजनमार्फत दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।