सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदै — OSNepal

सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदै

Kesh Karki (USA) June 16, 2025 0

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको अन्तिम तथा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ असार २ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता काठमाडौंको गोकर्ण गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुनेछ।

७२ होलको यो प्रतियोगितामा पहिलो ३६ होलपछि कट प्रणाली लागू हुनेछ। कट बनाउने शीर्ष २१ प्रोफेसनल गल्फरहरू (टाइ परेमा समेत) र सोही स्कोर बनाउने एमेच्योर खेलाडीहरू अन्तिम दुई राउन्डका लागि छनोट हुने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (NPGA) का महासचिव दीपक आचार्यले जानकारी दिए।

प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरहरूले कुल १६ लाख रुपैयाँ पुरस्कार राशीका लागि प्रतिस्पर्धा गर्नेछन्। साथै, १८ जना एमेच्योर खेलाडीहरू पनि सहभागि हुनेछन्।

पुरस्कार विवरण:

  • विजेता: उपाधिसहित रु. ३ लाख
  • दोस्रो: रु. १ लाख ८५ हजार
  • तेस्रो: रु. १ लाख २५ हजार
  • चौथो: रु. १ लाख ५ हजार
  • पाँचौं: रु. ९२ हजार
  • शीर्ष २१ भित्र पर्ने सबै खेलाडी नगद पुरस्कार प्राप्त गर्नेछन्।

जारी सिजनमा तीन उपाधि जित्दै ७ लाख ४२ हजार ५ सय रुपैयाँ कमाएका निरज तामाङ अर्डर अफ मेरिटमा शीर्ष स्थानमा छन्। तोरण शाही (४ लाख ९ हजार ५ सय) दोस्रो र भुवन नगरकोटी (३ लाख ६४ हजार ५ सय) तेस्रो स्थानमा छन्।

भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्र बहादुर राई र सुबास तामाङ यसपटक पनि बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। एमेच्योरतर्फ उपाधि जितेका सदभाव आचार्य, राहुल विश्वकर्मा र भुटानका निम दोर्जी तामाङले प्रो गल्फरहरूलाई कडा चुनौती दिने अनुमान गरिएको छ।

चार दिने मुख्य प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ, जसमा २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।

NPGA अध्यक्ष रविन्द्र मान श्रेष्ठले भने – “यो प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशासहित आयोजना हुँदैछ। खेलाडीहरू अत्यन्त उत्साहित छन् र सिजनलाई सफलतापूर्वक टुंग्याउन तयार छन्। सूर्य नेपाल प्रा.लि.लाई निरन्तर साथ र योगदानका लागि धन्यवाद व्यक्त गर्दछौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर