काठमाडौं, असार २ गते। अगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिएको दोलालघाट–चर्मावती सुरुङ मार्ग काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्र्याकको रूपमा विकास गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरूले चीन, भारत र नेपाललाई जोड्ने त्रिदेशीय राजमार्गको सम्भावना बोकेको उक्त सुरुङ परियोजना ‘गेम चेञ्जर’ बन्ने बताएका हुन्।
कार्यक्रममा मन्त्री दाहालले दोलालघाट–चर्मावती सुरुङ मार्ग काठमाडौं र चीनबीचको सम्बन्ध मजबुत पार्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै कनेक्टिभिटी, बस्ती घनत्व र उत्पादन क्षमताका आधारमा पूर्वाधार विकास अघि बढाउने मन्त्रालयको योजना सुनाए। सुरुङको प्रारम्भिक चरणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको भए पनि थप बजेट व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।
पूर्वमन्त्री आनन्द पोखरेलले सुरुङ मार्गले चीन–भारत सन्तुलनसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे भने पार्वत गुरुङले यसलाई बीपी राजमार्गको विकल्पको रूपमा विकास गर्नुपर्ने धारणा राखे। सरस्वती बस्नेत, श्यामकुमार बस्नेत, जिपछिरिङ लामालगायत नेताहरूले परियोजनाको आवश्यकतामा जोड दिँदै जनताको सहभागिता र पारदर्शिताको माग गरे।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, र अन्य दलहरूको सहभागिता थियो भने माओवादी केन्द्र भने अनुपस्थित रह्यो। सडक विभागका निर्देशक विष्णु शिबाकोटी र दीप बाराहीले सुरुङको सम्भाव्यता, इतिहास र योजना कार्यान्वयनबारे प्राविधिक जानकारी प्रस्तुत गरे।
दोलालघाट–चर्मावती सुरुङ मार्गले काठमाडौं, दोलखा र चीनको सीमानासम्मको दूरी कम गर्दै भौगोलिक, धार्मिक र आर्थिक दृष्टिले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजनाको अध्ययन र लगानी संरचना तय भएसँगै निर्माण प्रक्रिया अगाडि बढाइने बताइएको छ।