पोखरामा रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा, नदी र प्रकृति संरक्षणको बहस — OSNepal

पोखरामा रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा, नदी र प्रकृति संरक्षणको बहस

Kesh Karki (USA) June 16, 2025 0

पोखरा । पत्रकार तथा लेखक रमेश भुसालद्वारा लेखिएको यात्रावृत्तान्त ‘छालबाटो’ माथि शनिबार पोखरामा परिचर्चा कार्यक्रम सम्पन्न भयो । र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकको भाव, तथ्य र प्रभावबारे विश्लेषण गरियो ।

कार्यक्रममा साहित्यकार रोशन शेरचनले अवधारणापत्र प्रस्तुत गर्दै पुस्तकले भौतिक र मानसिक यात्रा सँगसँगै गराउने अनुभव दिने बताए । उनले लेखक भुसालले कर्णालीको उद्गमस्थल मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्रामा पर्यावरणीय, सामाजिक र सांस्कृतिक पक्षलाई गहिरो ढंगले प्रस्तुत गरेको बताए ।

लेखक भुसालले भने, “हाम्रो समाज नदीप्रति आश्रित छ, तर व्यवहारमा हामीले माया गर्न सकेका छैनौं ।” उनले हिमाल, नदी र तटीय क्षेत्रलाई विकासका नाममा तोडफोड गरिँदा त्यसको गम्भीर असर हुने धारणा व्यक्त गरे । पहाड काटेर बनाइने सडकको सट्टा संरक्षणमुखी विकासमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

साहित्यकार सरुभक्तले ‘छालबाटो’लाई अनुसन्धानमूलक कृति भएको उल्लेख गर्दै पुस्तकले पाठकलाई लेखककै साथमा यात्रा गराउने अनुभूति दिने बताए । उनले गैरआख्यानका रूपमा लेखिएको यो कृतिमा आख्यानको गुणसमेत रहेको धारणा राखे । “यो पुस्तक नदी र वातावरण संरक्षणमा गम्भीर सन्देश बोकेको दस्तावेज हो,” सरुभक्तले भने ।

पर्यावरण विषयमा रिपोर्टिङ गर्दै आएका रमेश भुसालले बीबीसीलगायतका अन्तर्राष्ट्रिय मिडियामा काम गरिसकेका छन् । उनले पुस्तक लेखनको उद्देश्य मानिसलाई एक पटक प्रकृति, नदी र चराको महत्वबारे सोच्न बाध्य बनाउनु रहेको बताए ।

कार्यक्रममा सहसचिव दीपक पराजुली, पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले पनि टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

र्‍यान्डम रिडर्स सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार साहित्यिक परिचर्चा आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर