काठमाडौँ – सदावहार प्रेमबिछोडको कथा बोकेको ३५ वर्ष पुरानो लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ स्वर र रूपमै पुनः सार्वजनिक गरिएको छ। द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप गायक रोशन राईको स्वरमा रेकर्ड गरिएको यस गीतलाई राजधानीको दरबारमार्गस्थित क्युएफएक्स हलमा एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
लुङ्टो क्रियशनको प्रस्तुतीमा बनेको गीतको नयाँ संस्करण सोही नामको युट्युब च्यानलमार्फत पनि सार्वजनिक भइसकेको छ।
गीत originally वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द, संगीतकार शान्तिराम राईको संगीत र सरोज कुमार श्रेष्ठ र सुक्मित गुरुङको स्वरमा सन् १९८० को दशकमा सार्वजनिक भएको थियो। नयाँ संस्करणमा मेलिना राईको समेत स्वर रहेको छ। देवेश राईले एरेञ्ज गरेको र किश्वर थापाले मिक्सिङ–मास्टरिङ गरेको गीतमा स्व. विक्रम राईले एडिसनल संगीत दिएका छन्।
कार्यक्रममा बोल्दै संगीतकार शान्तिराम राईले गीत सृजनाको पृष्ठभूमि सम्झिंदै भने, “काठमाडौँको अभाव र संर्घषबीच जन्मिएको गीत हो यो। आज तीन पुस्तासम्म यो गीत प्रिय हुनु भनेको संगीतको शक्ति हो।”
गायक रोशन राईले आफ्ना आदर्श संगीतकार शान्तिराम राईलाई ढोग गर्दै गीत गाउने अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे। कार्यक्रममा द भ्वाईस अफ नेपालका होस्ट सुशिल नेपालले कार्यक्रम सञ्चालन गरेका थिए। उनले रोशनको गायन मात्र होइन, अभिनयकला पनि अत्यन्त प्रशंसायोग्य रहेको बताए।
गीतको म्युजिक भिडियो निर्देशक राजेश पुमा राईले निर्देशन गरेका हुन्। भिडियोमा केकी अधिकारी र गायक स्वयम् रोशनको अभिनय छ, जहाँ प्रेम, विछोड र धोका भन्ने भावनालाई समेटिएको छ। निर्देशकले केकी र रोशनको अभिनयलाई निकै सशक्त रूपमा उतारेका छन्।
गायक रोशन राई सानैदेखि गीतसंगीतमा लागेका कलाकार हुन्। उनले पहिलोपटक २०६० सालमा गीत रेकर्ड गरेका थिए भने हालसम्म १ हजारभन्दा बढी गीत गाइसकेका छन्। उनको ‘मेरो प्यारो खोटाङ’, ‘तिमीसित माया गर्दा’, ‘जिवनमा एउटै’ जस्ता गीतहरू लोकप्रिय छन्। गायनसँगै शब्द, संगीत सिर्जनामा समेत सक्रिय रोशनले १०० भन्दा बढी गीतमा संगीत दिएका छन्। म्युजिक भिडियोमा पहिलो पटक देखिएका रोशनको अभिनय पनि अहिले चर्चा र प्रशंसामा परेको छ।
गीत ‘धोका दियौ तिमीले’ को यो नयाँ संस्करणले पुराना र नयाँ पुस्ताबीच भावनात्मक पुल बाँध्ने अपेक्षा गरिएको छ।