भक्तपुर – भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक च्वङा गणेश मन्दिर उक्लिने सडक कालोपत्रे गर्ने क्रममा नेपाली सेनाले अवरोध गरेको छ। च्वङा गणेश मन्दिर जान प्रयोग हुने उत्तर–पूर्वतर्फको फराकिलो सडक कालोपत्रे गर्ने अन्तिम तयारीमा रहेको बेला नेपाली सेनाले आफ्नो नाममा रहेको भन्दै सडकको पश्चिम भागमा काम रोक्न निर्देशन दिएको हो।
स्थानीयका अनुसार नेपाली सेनाको नजिकै रहेको सैनिक आवासीय महाविद्यालयले आफ्नो स्वामित्वमा रहेको क्षेत्र भन्दै सडकको कालोपत्रेमा रोक लगाएको हो। “उहिलेदेखिको चलनचल्तीको बाटो हो, सेनाले पहिले नै आफ्नो सिमाना कायम गरेर तारबारसमेत लगाइसकेको थियो,” एक स्थानीयले भने, “तर अहिले आएर पश्चिम किनारको केही भागमा कालोपत्रे गर्न अवरोध गरियो।”
तीन सय मिटर लम्बाइ र ६ मिटर चौडाइको दुई लेनको सडकमा हाल कालोपत्रे भइरहेको छ। तर च्वङा गणेश मन्दिर उक्लिने चोकको केही मिटर क्षेत्रमा मात्रै सेनाले विवाद सिर्जना गरेको हो। सेनाको निर्देशन अनुसार कालोपत्रे गर्दा त्यो खण्डमा एक लेन पनि बाँकी नहुने स्थानीयको भनाइ छ। त्यस्तो खण्डमा गाडी चल्नै नसक्ने र केवल पैदल यात्री हिँड्न सक्ने अवस्थाको संकेत गरिएको छ।
स्थानीयले यसअघि नै नेपाली सेनाका अधिकारीलाई हस्ताक्षरसहितको पत्र बुझाइसकेका भए पनि सहमति जुट्न नसकेको बताएका छन्।
भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा बैठकमा पनि उक्त विषय उठान भएको थियो। नगर प्रमुख सुनील प्रजापतिले सडक पर्खाल निर्माणका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरिएको भए पनि नेपाली सेनाको अवरोधका कारण काम प्रभावित भएको जानकारी दिएका थिए।
यस विषयमा भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद प्रेम सुवालले पनि आइतबारको संसद बैठकमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
सडक निर्माणको काम अगाडि बढाउने कि सेनासँग सहमति खोज्ने भन्ने विषयमा अबको निर्णय स्थानीय तह र केन्द्र सरकारबीचको समन्वयमा निर्भर रहने देखिएको छ।