काठमाडौं, असार १२ – स्व. बिबेक पंगेनीकी जीवनसंगीनी सिर्जना सुवेदीले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत आफ्नो गहिरो माया, पीडा र सम्झनाहरू सार्वजनिक गर्दै आइरहेकी छन्। हालै उनले लेखेको मार्मिक स्टाटस “ठिकै छ म एक्लै रोउँला, तर मेरा आँशु पुछिदिने तिमी छैनौ” भन्दै दिएको अभिव्यक्तिले हजारौँ मनहरू छोएको छ।
सिर्जनाको शब्द मात्र होइन, भावनाले भरिएको एक भिडियो क्लिपमा उनले भनेकी छन्, “हिजोआज मेरो मोबाइलमा तिम्रो फोन आउँदैन प्रिय, जुन फोनमा तिमीले पहिले दिनकै सयौँ कल गथ्र्यौ।” यही भिडियोसँगै उनले ‘फर्किएर आईदिए हुन्थ्यो नी’ भन्ने भावनात्मक अभिव्यक्ति पनि सेयर गरेकी छन्। यो पोस्टले सामाजिक सञ्जालमा व्यापक सहानुभूति र समर्थन पाएको छ।
टिकटकमा सँगै नाचेर धेरैको मन जितेको जोडी बिबेक र सिर्जनाको प्रेमयात्रा क्यान्सरसँगको लडाइँमा बिबेकको असामयिक निधनपछि अधुरो भएको थियो। तर, सिर्जनाले आफू एक्ली भए पनि बिबेकप्रतिको माया कहिल्यै कम हुन नदिएको देखिन्छ। उनका पोस्टहरूमा झल्कने प्रेम र समर्पणले बिबेक–सिर्जनालाई सामाजिक सञ्जालमा आदर्श दम्पतीका रूपमा स्थापित गराएको छ।
“दुख मेरो मात्र होइन, सबैको भागमा बराबर लेखिएको हुन्छ। तर मेरो भागको दुख अलि चाँडै लेखिदियो,” भन्ने उनका शब्दहरूले धेरैको आँखामा आँसु झारिरहेको छ। सिर्जनाको यस्तो प्रेमपूर्ण समर्पणलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “आदर्श नारी”को रूपमा व्याख्या गरिरहेका छन्।
आज पनि सिर्जनाको स्टाटस, तस्बिर र भिडियोहरूले बिबेकको सम्झनालाई जीवन्त बनाइरहेका छन्। एउटा उदाहरणीय प्रेमकथा, जुन मृत्युले छुट्याए पनि भावनाले जोडिएको सम्बन्ध कहिल्यै मेटिन सक्दैन भन्ने उदाहरण बनेका छन् – बिबेक र सिर्जना।