आफूसँग भएको रकम थोरै भए पनि ब्याज आउने प्रलोभनमा मानिसहरूले सहकारीमा पैसा राखे। कतिपयले जागिर पनि सोही सहकारीमै गरे। आफ्नो तलब पनि सहकारीकै खातामा जम्मा गर्थे। आफन्त, साथीभाइलाई पनि ब्याजको प्रलोभन देखाएर लाखदेखि करोडौं रुपैयाँसम्म जम्मा गर्न लगाए।
नयाँ बचतकर्ता नपाइएमा तलब र जागिर नै नपाउने भएपछि मानिसहरूले सुरुमा आफूसँग भएको लाखौं रुपैयाँ सहकारीमा जम्मा गरेर जागिर पाए। जागिर पाएपछि आफन्त, साथीभाइलाई पनि पैसा राख्न लगाए। सहकारीहरूबीच ब्याजका लागि होडबाजी नै चल्थ्यो। “कसले कति वा बढी ब्याज दिने?” भनेर सहकारीबीच प्रतिस्पर्धा हुन्थ्यो।
अनि बचतकर्ताहरू पनि एक प्रतिशत मात्रै बढी ब्याज दिने सहकारीमै पैसा राख्थे। अहिले सहकारी कुन अवस्थामा छ, छर्लङ्ग छ। सञ्चालक, अध्यक्षहरूको भागाभाग चलेको छ। बचतकर्ताहरूको रुवाबासी भइरहेको छ भने कर्मचारीहरू धर्मसंकटमा परेका छन्। सबैभन्दा बढी तनावमा अहिले कर्मचारी देखिन्छन्।
किनकि उनीहरूले आफूसँग भएको रकम र तलब त सहकारीमा राखेकै थिए, सँगै साथीभाइ, आफन्तको समेत लाखदेखि करोडौं रुपैयाँ आफ्नो सहकारीमा जम्मा गरेका थिए। अनि सहकारीको हाकिम नै भागेपछि कर्मचारीहरू यता न उताका भएका छन्। आफन्त, साथीभाइ लगातार पैसा मागिरहेका छन्।
आफ्नो समेत पैसा डुबेको छ। यसले गर्दा सहकारीका कर्मचारीहरू तनावमै छन्। कतिपयले सहन नसकेर आत्महत्या गरेका छन् भने अधिकांश सम्पर्कविहीन भएर बसेका छन्। हुन त सहकारी सञ्चालक, अध्यक्षहरूले पनि धेरै पढेलेखेका थिएनन्। मान्छे फर्काउन सक्ने वा धेरै पैसा भएका अर्थात् आफन्त, साथीभाइ र बजारबाट धेरै पैसा ल्याउन सक्ने व्यक्तिलाई जागिर दिइन्थ्यो। पढेकाहरूले सहकारीमा अवसर पाएनन्।
उनीहरू विदेश पलायन भए। नपढेकाहरूले सहकारीमा ठाउँ पाए। उनीहरूले आफन्त, साथीभाइ वा आम सर्वसाधारणलाई विभिन्न लोभ देखाएर लाखदेखि करोडौं रुपैयाँसम्म जम्मा गर्न लगाए। यसबापत उनीहरूलाई सहकारीले कमिशनसमेत दिन्थ्यो। साथै, तलब पनि बढी र सवारी साधनसमेत संस्थाबाटै दिइन्थ्यो।
तलब, कमिशन र गाडी पाउने भएपछि कर्मचारीहरूले आफ्ना परिवारदेखि चिनजान भएका सबैलाई लोभ्याएर रकम जम्मा गर्न लगाए। आफन्त, साथीभाइले पनि विश्वासमा परेर ब्याजको लोभमा घरजग्गा बेचेको, विदेशमा कमाएको वा व्यापार व्यवसाय, जागिरबाट आएको रकम सहकारीमा राखे। उनीहरूलाई सहकारीले अनेकौं गतिविधि गरेर लोभ्याउँथ्यो।
करोडौं खर्चिएर सहकारीको साधारण सभा गरिन्थ्यो। साधारण सभामा बचतकर्ता र सेयरधनीलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म दिइन्थ्यो। बचतकर्ताहरूको जन्मदिनमा घरमै पुगेर सहकारीका प्रतिनिधिहरूले केक काटिदिन्थे। बुढाबुढीलाई लौरो उपहार र तीर्थ यात्रामा समेत लग्थे भने वर्षमा एक दिन सबै बचतकर्तालाई पिकनिकमा लगिन्थ्यो।
सहकारीले यत्रो गरेको देखेपछि बचतकर्ताहरू पनि मख्ख। पैसा राख्दैमा यति सुविधा पाएको भन्दै उनीहरूले सहकारीको गुनगान गाउँथे। आफ्ना आफन्त, चिनजान भएकालाई सुनाउँथे र उनीहरूलाई पनि बचत गर्न लगाउँथे। ‘मैले त यो सहकारीमा पैसा राखेको छु, यति धेरै ब्याज दिन्छ, यस्तो सुविधा छ’ भन्दै बजारमा प्रचारप्रसार गर्थे।
यता, सहकारीका कर्मचारीको पनि पारा नै भिन्न। सरकारी कर्मचारीभन्दा चिटिक्क परेर हिँड्थे उनीहरू। कोट, पेन्ट लगाउँथे, मानौं कुनै बिहे, व्रतबन्ध वा पाटीमा जान लागिएको हो। कोही कर्मचारी गाडीमा हिँड्थे त कोही स्कुटरमा। कतिपय चाहिँ पैदल हिँड्थे र पैसा उठाउँथे। एउटै बजार प्रतिनिधिले दिनमै तीन लाखदेखि पचासौं लाखसम्म रकम उठाएर अफिस लग्थे।
एउटा सहकारी संस्थाको बजार प्रतिनिधि घटिमा १० देखि सयौं जनासम्म हुन्थे। अफिसभित्रै कर्मचारी अलग्गै। काउन्टर र हिसाबकिताब मिलाउन मात्रै २०–२५ जना कर्मचारी राखिन्थ्यो भने ढोकामा दुई जना गार्ड। प्रत्येक सहकारीको कोठा–कोठामा एसी हुन्थ्यो। सहकारी सञ्चालक, अध्यक्ष, कर्जा अधिकृतहरू दिउँसो १२ बजेदेखि ३ बजेसम्म कार्यालय आउँथे।
उनीहरू कार्यालय पस्नेबित्तिकै सुरक्षागार्डले उफ्रिँउफ्रिँ सलाम ठोक्थे, मानौं कोही राष्ट्रपति, प्रधानमन्त्री आएको हो। सञ्चालक, अध्यक्ष, कर्जा अधिकृत जतिखेर आए पनि तलब चाहिँ ५० हजारदेखि डेढ लाखसम्म बुझ्थे। करोडौं पर्ने गाडी संस्थाबाटै दिइन्थ्यो। खाजा, पत्रपत्रिका, टेलिफोनलगायत विभिन्न सुविधा उनीहरूलाई हुन्थ्यो।
तलबबाहेक महिनामै लाखौंको सेवासुविधा बुझ्थे। तैपनि कर्जा दिने बेला घुस अनिवार्य। एक करोड मूल्य बराबरको धितो राखेर ६०–७० लाख कर्जा दिन्थे। त्यसबापत १० लाख रुपैयाँ अध्यक्ष, सञ्चालक, कर्जा अधिकृतहरू मिलेर घुस खाँथे। त्यस्तै, सेवा शुल्क तीन प्रतिशत, ब्याज १६ प्रतिशत भनेर ८० प्रतिशत पुर्याउँथे। ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलामी प्रक्रिया अघि बढाइहाल्थे।
सहकारी सञ्चालक, अध्यक्षहरू सरकारी कर्मचारीभन्दा बढी भ्रष्टाचारी थिए। अफिसको हरेक काममा उनीहरूले भ्रष्टाचार गर्थे। संस्थाको साधारण सभादेखि भवन निर्माण, जग्गा तथा आवश्यक सामग्री खरिदमा समेत ठूला पदाधिकारीहरूले कमिशन खान्थे। यति मात्र होइन, मरेको मान्छेको श्रद्धाञ्जली पत्रपत्रिकामा निकाल्दासमेत भ्रष्टाचार।
दश हजार लागेमा एक लाखको बिल बनाएर पचाउँथे। अर्कोतर्फ, सहकारीको नाममा घरजग्गा किनेर राखेको भन्दै सञ्चालक, अध्यक्षहरूले आफ्नो नाममा राख्थे। कसैले यसबारे चुइँक्कसमेत थाहा नपाउने। अनि सेयरधनी र बचतकर्ताहरूलाई चाहिँ हाम्रो संस्थाको यहाँ यति घरजग्गा छ भन्दै भ्रममा पार्थे। सहकारी सञ्चालक, अध्यक्ष, कर्जा अधिकृतहरू दलालीसँग मिले।
दलालीको लहैलहैमा लागेर उसले जहाँ जहाँ लगानी गर भन्यो, सहकारी सञ्चालक, अध्यक्षहरूले घुस खाँदै त्यसमा लगानी गरे। दलालीले त सोझासाझा जनतालाई जग्गा बेच्यो। जग्गा किन्नेसँग पैसा पुगेन। अनि दलालीले घुस दिएर सहकारीबाट लोन मिलाइदियो। त्यो लोन दलाली आफैंले लियो र जग्गा किन्नेको नाममा पास गराइदियो।
जग्गा किन्नेले सोचेको थियो कि सहकारीको ऋण विस्तारै कमाएर तिर्छु। तर, सुरुमा १६ प्रतिशत ब्याज भनेको सहकारीले पछि बढाउँदै बढाउँदै ८० प्रतिशत पुर्यायो। यत्रो चर्को ब्याज ऋणीले तिर्न सकेन। अनि सहकारीले उसको धितो कब्जा गर्यो। त्यति मात्र होइन, उसको तीन पुस्तालाई कालोसूचीमा पारिदियो।
अब ऋणीसँग न धितो रह्यो, न एक रुपैयाँ पैसा। उल्टै उसका छोराछोरी, नातिनातिनाको समेत भविष्य बर्बाद भयो। अनि कुनै बाटो नदेखेपछि ऋणीले आत्महत्याको बाटो रोज्यो। दलाली र सहकारीको चंगुलमा परेर तहसनहस हुने थुप्रै छन्। तर, भनिन्छ कि पाल धुरीबाट कराउँछ। त्यस्तै भयो सहकारी र दलालीहरूलाई पनि। अहिले घरजग्गा, गाडी र सेयर कारोबार ठप्प छ।
जसका कारण दलालीहरू भाग्नुपरेको छ भने सहकारी त टाट नै पल्टियो। सहकारीले धमाधम धितो त लिलाम गर्यो तर बेच्न सकिएन। जसका कारण सहकारीले बचतकर्तालाई ब्याज र कर्मचारीलाई तलब दिन सकेन। ब्याज नपाएपछि बचतकर्ताहरू आफ्नो रकम माग्न गए। तर, सहकारीले फिर्ता दिन सकेन। “दिन्छु दिन्छु” भन्दाभन्दै रातारात सहकारी सञ्चालक, अध्यक्षहरू फरार भए भने कतिपय पक्राउ परी जेल सजाय काटिरहेका छन्।
अहिले बैंकमा समेत समस्या आइसक्यो। किनकि बैंकको पनि लगानी सहकारीजस्तै घरजग्गा, गाडी र सेयरमै छ। अर्कोतर्फ, बैंकमा जागिर खानेहरूले पनि आफ्नोसँगै परिवार, आफन्त, साथीभाइहरूको करोडौं रकम राखेका छन्। यसैले, बैंकका सञ्चालक, अध्यक्ष भाग्नेबित्तिकै उनीहरूको कन्तबिजोग हुनेछ।