जालमाया’ नयाँ संस्करणमा — OSNepal

जालमाया’ नयाँ संस्करणमा

LC (KTM) June 29, 2025 0

काठमाडौँ । तामाङ भाषामा रहेको प्रेम गीत ‘जालमाया’ को नयाँ संस्करण सार्वजनिक भएको छ ।गायिका निर्मला घिसिङको अफिसियल युट्युब च्यानल मार्फत प्रस्तुत गरिएको यस गीतको नयाँ संस्करणमा गायिका घिसिङसँगै गायक रमण थामीको स्वरलाई सुन्न सक्नुहुनेछ। गीतलाई अडियो प्लाटफर्म मार्फत सार्वजनिक गरेपश्चात् भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

तामाङ सिनेमा ‘जालमाया’ को शीर्षक गीत रहेको यस गीत विक्रम संबत २०६० साल (2003) मा गायक अमृत लामा र स्वर्गीय गायिका योगिता मोक्तानको स्वरमा रेकर्ड गरिएको थियो । फिल्म निर्माता सन्तलाल घिसिङले रचना गर्नुभएको गीतमा कुबेर दोङको सङ्गीत र उहाँकै सङ्गीत संयोजन रहेको छ ।

करिब २२ वर्षपछि रेकर्ड गरिएको ‘जालमाया’ को नयाँ संस्करणलाई भने पवन वाङ लामाले सङ्गीत संयोजन गर्नुभएको छ । सुन्दर लामाले ध्वनि सम्पादन गर्नुभएको यस गीतलाई रोशन फ्युबाले भिडियोतर्फ निर्देशन गर्नुभएको छ । तामाङ समुदायको बाक्लो बस्ती रहेको रसुवा र धादिङ जिल्लाको सुन्दर प्राकृतिक स्थलमा छायाङ्कन गरिएको यस गीतमा रन्जिता तामाङ र सोनाम तामाङको अभिनय रहेको छ। गीतमा प्रतीक ङ्यासुरको कोरियोग्राफि देख्न सकिन्छ ।
काठमाडौँ वरिपरिका जिल्लाहरूमा मुख्य बसोबास रहेको तामाङ समुदायमध्ये उत्तर(पश्चिम दिशाको पहाडी क्षेत्रतर्फ बसोबास गर्ने तामाङ समुदायको भौगोलिक विशिष्टता, सांस्कृतिक विविधता र मौलिक पहिरनलाई ‘जालमाया’ गीतमार्फत हेर्न सकिन्छ ।

पहिलो संस्करण पूर्ण तामाङ भाषामा रहेको यस गीतको नयाँ संस्करणमा स्रोता र दर्शकको रुचिलाई मनन् गर्दै नेपाली भाषालाई पनि स्थान दिएको गायिका घिसिङले बताउनुभयो। केही समय अघि मात्रै साङ्गीतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर फर्किएकी गायिकाले आम स्रोता र आफ्नो साङ्गीतिक शुभचिन्तकका लागि उपहार स्वरूप गीतलाई सार्वजनिक गरिएको बताउनुभयो ।

तामाङ साङ्गीतिक क्षेत्रका वरिष्ठ गायक अमृत लामा,गायिका योगिता मोक्तान र यस गीतका सम्पुर्ण स्रष्टालाई सम्मान सहित नयाँ परिवेश र युवा पुस्तामाझ पुनश्च: यस गीत सुनाउन ‘जालमाया’ को नयाँ संस्करण तयार पारिएको गायिका घिसिङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर