आकाशे पुलः बाटो काट्न बनाइएको कि नेताको प्रचारप्रसार र व्यापार व्यवसाय गर्न? — OSNepal

आकाशे पुलः बाटो काट्न बनाइएको कि नेताको प्रचारप्रसार र व्यापार व्यवसाय गर्न?

Kesh Karki (USA) June 30, 2025 0

आकाशे पुल सडक तथा बाटो पार गर्नका निम्ति बनाइएको हो। जेब्राक्रसबाट सडक पार गर्दा दुर्घटना धेरै हुने भएकाले आकाशे पुल निर्माण गरिएको हो। तर पछिल्लो समय आकाशे पुल प्रचारप्रसार गर्ने औजार बनेको छ। सडक पार गर्नभन्दा बढी राजनीतिक दलका नेता, स्थानीय तह, मेला–महोत्सव वा विभिन्न कम्पनीहरूको विज्ञापन गर्ने थलो बनेका छन्।

काठमाडौं उपत्यकाभित्र होस् वा बाहिरी जिल्लामा, अधिकांश आकाशे पुलमा केही न केही पोस्टर टाँसिएको देख्न सकिन्छ। प्रधानमन्त्री, मन्त्री कतै आउन वा जान लागेमा, मेला वा महोत्सव हुन लागेमा, कम्पनीले कुनै कार्यक्रम गर्न लागेमा—ठूलो र लामो पोस्टर बनाएर सम्बन्धित व्यक्ति वा कम्पनीको फोटो राखी आकाशे पुल ढाकिने गरी राखिन्छ।

यसरी आकाशे पुलमा पोस्टरमाथि पोस्टर टाँसिँदा शहर कुरूप देखिने मात्र होइन, प्रचारप्रसारको नाममा पुलको दुरुपयोग पनि भइरहेको छ। तर यस्ता गतिविधिविरुद्ध स्थानीय तह वा सम्बन्धित निकायले कुनै कदम चालेको पाइँदैन।

आकाशे पुलमा पोस्टर मात्र होइन, व्यापार व्यवसाय पनि गरिन्छ। कतिपय स्थानमा आकाशे पुल हिँड्नै नसकिने गरी पसल राखिएको छ। माग्ने मानिसहरू पनि त्यत्तिकै हुन्छन् भने टिकटक बनाउने युवाहरूको पनि घुइँचो हुन्छ। यस्तो गतिविधिले सर्वसाधारणलाई निकै सास्ती भएको छ।

आकाशे पुलमा हिँडडुल गर्नु सर्वसाधारणका लागि कुनै महाभारतभन्दा कम छैन। काठमाडौं महानगरपालिकाले रामशाहपथ र नयाँ बानेश्वरमा राखेको फलामको पुलमा खिया लागेको छ, डण्डी पनि पातलो छ भने भर्याङ् साना छन्। जसले गर्दा मान्छे वा बच्चा चिप्लिएर तल खस्ने जोखिम उच्च छ।

काठमाडौंका अधिकांश आकाशे पुलमा माग्ने मानिसहरू र सडक व्यापारीहरू हाबी छन्। नगर प्रहरी न त पसल हटाउँछ, न माग्ने हटाउँछ, न त टिकटक बनाउनेमाथि कारबाही नै गर्छ।

भक्तपुरको सल्लाघारी, सिर्जनानगर, सूर्यविनायक, गठ्ठाघर, थिमी लगायत स्थानका आकाशे पुलमा हिँड्नै नसकिने गरी पसल थापिएको देखिन्छ। यहाँ पुल चढ्नु भनेको संघर्ष हो। त्यसैले पैदल यात्रुहरू जोखिम मोलेर जेब्राक्रसबाट बाटो काट्न बाध्य छन्।

भक्तपुरमा तीनवटा स्थानीय तह छन्। तर, कुनै पनि तहले आफ्ना क्षेत्रमा रहेका आकाशे पुललाई व्यवस्थित बनाउन काम गरेको पाइँदैन। सूर्यविनायक नगरपालिकाका नगर प्रहरीहरू नेताजस्तै व्यवहार गर्छन्। बिहान स्कुटरमा कार्यालय आउँछन्, मेयर–उपमेयरलाई सलाम ठोकेर हाजिर गर्छन्, अनि दिनभर व्यापारीहरूसँग गफ गरेर बस्छन्।

नगरपालिकाअगाडि सञ्चालनमा रहेका कुनै पनि पसल दर्ता भएका छैनन्। नगरपालिका भित्र सञ्चालित अधिकांश व्यापार व्यवसाय कानुनी रूपमा नदर्ता भएका हुन्। तर नगर कर्मचारी र नगर प्रहरी अनुगमन गरेर कारबाही गर्दैनन्। यहाँका कर्मचारी र प्रहरीहरूमा काम गर्ने क्षमता नै नभएको देखिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतको आडमा उनीहरूले जागिर पाएको आरोप समेत स्थानीयहरूबाट लाग्ने गर्छ। सल्लाघारी चौरभित्र डाइभिङ सेन्टरदेखि कराँते प्रशिक्षण केन्द्र र अन्य व्यवसाय सञ्चालन भइरहेका छन्—त्यो जमिन नेपाल ट्रस्टको हो। तर भक्तपुर नगरपालिकाले कारबाही गरेको पाइँदैन।

नगरका जनप्रतिनिधि र कर्मचारी स्वयं सरकारी सम्पत्तिमाथि आँखा लगाइरहेका छन्। काठमाडौं महानगरका प्रहरी पनि कामभन्दा बढी गफमा व्यस्त देखिन्छन्। प्रमुख राजु पाण्डे मात्रै खटिएको देखिन्छ, बाँकी प्रहरी मापदण्ड विपरीत सञ्चालित पसलमै गफ गरेर बस्छन्।

ललितपुर महानगरका प्रहरी त झन् विज्ञापनमा व्यस्त देखिन्छन्। यहाँ थुप्रै मापदण्डविपरीत व्यवसाय सञ्चालन भइरहेका छन्, आकाशे पुल व्यापारीहरूले कब्जा गरेका छन्, तर प्रहरी मौन छ। ललितपुरको मेयर र प्रहरी दुवैको एउटै काम छ—काम नगर्ने, तर ठूलो प्रचार गर्ने।

उपत्यकाभित्र जेब्राक्रस पर्याप्त छैनन्। जे भए पनि टाढा–टाढा छन् वा रङ मेटिएका छन्। आकाशे पुल पनि हिँड्न सकिने अवस्थामा छैनन्। यसले गर्दा सर्वसाधारणलाई सडक पार गर्न संघर्ष गर्नुपर्छ।

भाटभटेनी, बिगमार्टजस्ता ठूला सुपरमार्केटमा किनमेल गर्न जानु परे पनि जेब्राक्रस नदेखिने, वा मेटिएको देखिन्छ। भक्तपुरको राधेराधेमा चारैतिरबाट सवारीसाधन आउँछन्। तर त्यहाँको जेब्राक्रसको रङ मेटिसकेको छ। सडक पार गर्न जोखिमपूर्ण अवस्था छ।

मानिसहरू आफ्नै घरअगाडिका पसलमा सामान नकिनी इज्जत जान्छ भनेर भाटभटेनी जान्छन्, अनि त्यहाँ ठगिन्छन्। भाटभटेनीले १०० रुपैयाँको सामानलाई ५०० मा बेचिरहेको छ। ग्राहकको सुरक्षाका लागि केही गर्दैन।

भाटभटेनीले चाहेको भए आफ्नो अगाडिको जेब्राक्रसमा आफैंले रङ लगाएर राम्रो उदाहरण बन्न सक्थ्यो। तर उसलाई ग्राहकको सुरक्षाभन्दा व्यापारबाट फाइदा चाहिएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाअगाडि महालेखा परीक्षकको कार्यालय र सडक डिभिजन कार्यालय छ। यस्ता कार्यालयमा हजारौं सेवाग्राही आउने गर्छन्, तर अगाडि जेब्राक्रस नै छैन। यस्तो निकायबाट अरू ठाउँमा जेब्राक्रस बनाउने अपेक्षा गर्नु लाजमर्दो विषय हो।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू कामभन्दा बढी गफ गर्नमै व्यस्त छन्। त्यसैले आज धेरै जनताले आफ्नै स्थानीय तह प्रमुखको नाम पनि थाहा पाउँदैनन्। काम गर्ने हो भने नाम चर्चा हुन्छ। उदाहरण: काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र प्रहरी प्रमुख राजु पाण्डे। जनताले उनीहरूको काम देखेका छन्, महसुस गरेका छन्।

अब बालेन र पाण्डेले आकाशे पुललाई पनि व्यवस्थित बनाउने काम गर्नु आवश्यक छ। आकाशे पुल व्यापार, विज्ञापन वा मनोरञ्जनको थलो होइन; जनता सुरक्षित रूपमा बाटो काट्न सक्ने संरचना हो।

आजभोलि त मानिस बिहान घरबाट निस्कँदा साँझ फर्किन्छु कि फर्किन्नँ भन्ने डर हुन्छ, किनभने हिँड्ने बाटोमै व्यापार व्यवसाय गरिएको छ।

– रुषा थापा, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर