काठमाडौं । कलाकार, निर्देशक तथा निर्माता माओत्से गुरुङको निर्देशनमा बन्ने दोस्रो नेपाली सिनेमा ‘पेन्सनपट्टा’ मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यससँगै दयाहाङ र माओत्सेबीचको यो दोस्रो सहकार्य हो। यसअघि माओत्सेको निर्देशनमा बनेको डेब्यु सिनेमा ‘दयारानी’ मा पनि दयाहाङ प्रमुख भूमिकामा देखिएका थिए।
निर्देशक गुरुङले आफ्नो दोस्रो निर्देशनलाई अझ परिष्कृत र प्रभावशाली बनाउन चाहेको बताउँदै भने, “यो फिल्मले दर्शकलाई फरक स्वाद दिनेछ। सशक्त अभिनय र गहिरो कथावस्तुका साथ सिनेमालाई उत्कृष्ट बनाउने प्रयास रहनेछ।”
‘पेन्सनपट्टा’ को कथाः लोभीबाट दानी बन्ने यात्राको कथा
सिनेमाको शीर्षकले पूर्व लाहुरेको जीवन झल्काउने आभास दिन सक्ने भए पनि फिल्म वास्तवमा एक लोभी केटा कसरी दानी व्यक्ति बन्न पुग्छ भन्ने कथामा आधारित रहने निर्देशक तथा निर्माता गुरुङले जानकारी दिए।
सिनेमाको सम्पूर्ण छायांकन कास्कीको पोखरा र आसपासका क्षेत्रहरूमा गरिनेछ। सिनेमाटोग्राफी सुशन प्रजापतिले गर्नेछन् भने कास्टिङ डिरेक्टरको जिम्मेवारी सुरज तमुले सम्हाल्नेछन्। अन्य कलाकारको टुंगो छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
कार्तिकको तेस्रो साताबाट फ्लोरमा जाने तयारी
‘पेन्सनपट्टा’ कार्तिकको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा छ। माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने यो सिनेमाको कथा समेत गुरुङले आफैं लेखेका हुन्।
हिट निर्देशकको दोस्रो पाइलाः माओत्से गुरुङको फिल्म यात्रामा नयाँ अध्याय
गुरुङ भाषाका फिल्महरू हुँदै नेपाली सिनेमा निर्देशनमा होमिएका माओत्से गुरुङको पहिलो सिनेमा ‘दयारानी’ बक्स अफिसमा सफल सावित भएको थियो। चरित्र अभियनमा सशक्त छवि बनाइसकेका गुरुङ पछिल्लो समय लेखन, निर्देशन र निर्माण तीनै क्षेत्रमा क्रियाशील छन्।
‘पेन्सनपट्टा’ प्रति दर्शक तथा नेपाली फिल्म उद्योगमा निकै उत्साह देखिएको छ। सफल अभिनय यात्रा र सशक्त निर्देशनको दोहोरो तालमेलले यो फिल्मलाई उल्लेखनीय बनाउने अपेक्षा गरिएको छ।