धुलिखेल । निरन्तर २५ वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशन हुँदै आएको नव क्षितिज साप्ताहिकले रजत वर्षको अवसर पारेर सामाजिक सेवा कार्य सम्पन्न गरेको छ। पत्रिकाका प्रधान सम्पादक, अग्रज पत्रकार तथा सामाजिक अभियान्ता नवराज बजगाईको जन्मदिनको अवसर पारेर धुलिखेल–१२ मा रहेको मानव कल्याण समाजको सेवा घरका ५२ जना वृद्धवृद्धा र असहायलाई खाना खुवाइयो।
कार्यक्रममा खाद्यान्न, लत्ता कपडा र नगद २५ हजार रुपैयाँ हस्तान्तरण गर्दै सेवा भाव व्यक्त गरिएको थियो। सेवामूलक यो कार्य सम्पादक बजगाईकी धर्मपत्नी तारा भट्टराईको असार २२ गतेको जन्मदिनलाई समेत जोडेर गरिएको हो।
कार्यक्रममा बनेपा नगरपालिकाका उप–प्रमुख विमला सापकोटा दाहाल, धुलिखेल–१२ का पूर्व वडाध्यक्ष एवं सेवा घर संयोजक हर्कसिं तामाङ, सञ्चारकर्मीहरू अरविन्द्र गौतम, दीपक राउतलगायतले चेक हस्तान्तरण गरेका थिए।
पत्रकार बजगाईले सेवा घर स्थापना भएदेखि नै आफूले सकेसम्म सहयोग गर्दै आएको जनाउँदै सामाजिक प्रेरणाका लागि यस कार्यलाई निरन्तरता दिएको बताए।
धुलिखेल–१२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेको अध्यक्षतामा तथा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाई (सुमी मानव) को सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्य विभिन्न वडा अध्यक्षहरू, समाजसेवी, सञ्चारकर्मी र राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मानव कल्याण समाजलाई खाद्यान्न सामग्री (नुन, मसला, चिउरा, मस्यौरा), सरसफाइका सामग्री (साबुन, डेटोल, फिनेल, सरफ), फलफूल तथा लत्ता कपडा समेत हस्तान्तरण गरिएको थियो।
मानव कल्याण समाजकी अध्यक्ष चौलागाईले अहिले विभिन्न ६ शाखामार्फत ४ सयभन्दा बढी असहायहरूलाई संरक्षण गरिएको जानकारी दिइन्।
यसैबीच, नव क्षितिज साप्ताहिकको रजत वर्षको भव्य शुभारम्भ यसअघि धुलिखेलको फुलबारीस्थित दुसित थानी रिसोर्टमा गरिएको थियो। पूर्व राष्ट्रपति डा. रामवरण यादवले डिजिटल ब्यानरमार्फत रजत वर्षको उद्घाटन गरेका थिए।
उक्त समारोहमा पत्रिकाका स्तम्भकार प्रल्हाद दाहालको कृति ‘अनुभूतिको संगालो’ र दिपा गुरुङ ‘समभाव’ को कथा संग्रह ‘कथा काठमाडौं’को पनि विमोचन गरिएको थियो। साथै रजत लोगोको कोट पिन, स्मारिका तथा रजत गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाई, प्रदेशसभा सदस्यहरू, विभिन्न स्थानीय तहका प्रमुखहरू, प्रेस संगठनका प्रतिनिधिहरू, सञ्चारकर्मी र समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।