विश्ववास – विजयपुरको राजगद्दी बुद्धिकर्ण खेवाहाङले हत्याएको आधा दशक नबित्दै गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बुवानमाथि आक्रमण गर्ने निश्चित भयो। ती गोर्खालीहरू विरुद्ध लड्न शक्तिशाली सेना चाहिने भएकाले बहादुर, लडाकु र परिवार भित्रकै नातेदारलाई विश्वास गरेर काका काङसोरेलाई सेनापतिको जिम्मेवारी अर्थात् युद्ध लड्ने मुख्य जिम्मेवारी राजा बुद्धिकर्णले दिए।
खम्बुवान र गोर्खाली फौजबीच युद्ध चलिरहेको बेला अरुणपूर्वको लिम्बुवानी सेनाहरूले युद्धका लागि राम्रो तयारी गरिसकेका थिए। अरुण नदी तरेर लडाइँ गर्नु गोर्खा सेनालाई सजिलो कुरा थिएन। सभा दोभान हुँदै चतरा तर्फ बग्ने अरुण नदी सिमाना रहेको विभिन्न गौंडामा धेरै युद्धहरू भए। काङसोरे आफैँले नेतृत्व गरेको लिम्बुवानी सेनाहरूले १७ वटा भन्दा बढी युद्धहरूमा विजय प्राप्त गरे।
उनीहरूले अरुण सभा दोभान हुँदै ८ दिनको बाटो टाढा चैनपुर, झाँगाझोली, दुम्जा (सिन्धुली), बाह्रबिसे, दोलखा, रामेछाप क्षेत्रसम्म गोर्खालीलाई लखेटेको इतिहास हज्सनले संकलन गरेको पाण्डुलिपिमा उल्लेख छ। उनीहरूले गोर्खाली सेनाहरूलाई ध्वस्त बनाए। अर्कोपटक पृथ्वीनारायण शाहले सेनानी रघु रानाको नेतृत्वमा आक्रमण गर्न पठाए। पुनः गोर्खाली सेनाहरूले युद्ध जित्न सकेनन् र अन्ततः अब दुवैतर्फका सेनापति मात्र तरवार र ढाल लिई युद्ध लड्ने, जसले जित्छ उसैको पक्षको विजय घोषणा गर्ने भनी सहमति गरे।
सेनापति काङसोरे सर्तअनुसार अन्य हातहतियार नराखी सेनाहरूको साथ युद्धस्थलमा पुगे। दुई सेनापति बीच युद्ध शुरु भयो। दैवीशक्ति समेत भएका काङसोरेले गोर्खाली सेनापति रघु रानालाई तरवारले काटेर मारे। त्यसपछि छलकपट गर्न सिपालु गोर्खाली सेनाहरूले माटोमा गाडेर राखेको हातहतियारहरू झिकेर सेनापति काङसोरेलाई मारिदिए।
दुवै सेनापतिको शवलाई सभादोभानकै नजिक पूर्वपट्टि रहेको गन्धेपानी स्थित युद्धक्षेत्रको माथिल्लो छेउमा रघु रानालाई र युद्धक्षेत्रको तल्लो छेउमा ठूलो सम्मानका साथ दबाई चिहान माथि चौतारा बनाई दिए (चेम्जोङ, पृष्ठ ९२)। अहिले पनि उक्त समाधिस्थल प्रमाणका रूपमा देख्न सकिन्छ। दुवै सेनापतिको समाधिस्थल आमनेसामने बाटो माथि र तल राखिएको छ। सेनापति काङसोरेको बलिदानीपूर्ण दुःखद निधनपछि दोस्रो सेनापतिको जिम्मेवारी मुदिम्बा खेवाहाङले पाएका थिए। उनले लिम्बू–गोर्खालीबीचको चतराघाटमा भएको घनघोर युद्धमा वीरगति प्राप्त गरे।
गोर्खाली र लिम्बुवानबीच विभिन्न ठाउँहरूमा युद्धहरू भएका थिए। ती युद्धहरू मध्ये धेरै युद्धहरूको नेतृत्व सेनापति काङसोरे र मुदिम्बा खेवाहाङले गरेका थिए। लिम्बुवानसँगको युद्धमा गोर्खालीहरूले धेरै गुमाए तर विजय गर्न सकेनन् र अन्ततः कूटनीतिक सम्बन्ध जोडे। लिम्बुवानले आफ्नै मुद्रा, आफ्नै कानुन उपभोग गर्न पाउने गरी राजधानी विजयपुर, धरानमा नुनपानीको किरिया खाई गोर्खालीहरूले लिम्बुवानसँग सम्झौता गरे। स्वायत्त लिम्बुवान राज्यको दूत संवत् १९४५ सम्म काठमाडौँमा रहने गर्दथ्यो।
वि.सं. २०५५ मा प्रकाशित मानव उत्पत्ति र खेवा वंश पुस्तकअनुसार सेनापति काङसोरे खेवाहाङ वि.सं. १८०० मा छथर थुमका हाङ कमराय खेवाहाङका ज्येष्ठ पुत्रको रूपमा तेह्रथुम, छथर ओख्रेको खेवाहाङ यक ताक्लुङमा जन्मिएका थिए। उनी सानैदेखि समाज र भूमिलाई औधी माया गर्थे। शिकार खेल्नु र तरवार चलाउनु उनको रुचि थियो। बुद्धिकर्ण विजयपुरको राजा बन्नुमा पनि उनको साथ थियो।
लिम्बुवान भूमिको रक्षा र जनताको लागि लड्दालड्दै सेनापति काङसोरेले अन्ततः २५ बैशाख १८३१ का दिन युद्धमा वीरगति प्राप्त गरे। उनका सन्तानहरू अहिले सभा दोभानबाट नजिकै लेगुवा र छथर हात्तिखर्कमा पनि बसोबास गर्दै आएका छन्। यता सभा दोभान नजिकै भोजपुरको जरायोटारमा समेत खेवाहाङहरू बसोबास गर्दै आएका छन्। यो इलाका खेवाहरूको पश्चिमतर्फको अन्तिम बसोबास क्षेत्र हो। किनकि इतिहासमा खेवाहरूले पश्चिम दूधकोसीसम्म शासन गरेको कुरा इमानसिंह चेम्जोङ र विद्वान डा. हर्क गुरुङ लगायतले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। विशेष गरेर सेनकालमा लोहाङ सेनले आफ्नो प्रान्त विभाजन गर्ने क्रममा अरुण सिमाना बनाएपछि खेवाहाङहरूको पश्चिमी दूधकोसीसम्मको सिमाना गुम्न गयो। लिम्बुवान भूमिको रक्षार्थ अतुलनीय योगदान गरेका सेनापति काङसोरे खेवाहाङ (काङसो राय), दोस्रो सेनापति मुदिम्बा खेवाहाङ लगायतका वीर सपूतहरू सबैका लागि प्रेरणाका स्रोत बने।
सेनापति काङसोरेको सम्झनामा छथर तिरका लिम्बूहरूले ‘काङसोवा मेला’ लगाएका थिए। छथरको तेलिया खोलाको पुच्छार जहाँ काङसोवा मेला वि.सं. २०५८ सालसम्म लाग्दथ्यो, यसलाई आज पनि ‘काङसोवा’ भन्ने गरिन्छ। माथिल्लो पट्टि तेलिया खोला भनिनेपूर्व उक्त खोलामा काङसोरेले शिकार खेल्ने तथा युद्ध अभ्यास गर्ने भएकाले यो पुरै खोलालाई ‘काङसोवा खोला’ भनिन्थ्यो। यो खोलालाई वि.सं. १८७५ मा तेलिया इँटाबाट बनेको मन्दिरलाई तिलेश्वर महादेवको मन्दिर नामाकरण गरी ‘काङसोवा खोला’लाई ‘तेलिया खोला’ नामाकरण गरियो। यसैगरी लिम्बू भाषाबाट राखिएको खाम्नेरा गाउँलाई ‘तेलिया’ बनाइयो।
उसो त छथर ओख्रेमा काङसोरेको नाममा भएको जग्गा–खेती छँदैछ। वीर लिम्बुवानी सेनापति काङसोरेलाई सहयोग गर्नका लागि ताक्लुङबाट थप सेनाहरू सभादोभान तर्फ जाँदै गर्दा हमरजुङ र आङदिम गाविसको सिमाना मानिने खोलामा पुग्दा ती सेनाले काङसोरे मारिएको खबर पाएका थिए। ‘कुन दिन काङसोरे मारियो?’ भन्दा ‘लावा पमबम ऐन’— यसको नेपाली अर्थ ‘आकाशमा जुन टल्किएको रात’ हुने भएकाले सो खोलाको नामाङ्करण पनि ‘पमबम खोला’ रहन गयो। उक्त खोला अझै पनि ‘पमबम खोला’कै नामले चिनिन्छ।
बहादुर सेनापति काङसोरेको सम्झनामा खोलाको नामकरण ‘काङसोवा’ र मेला समेत ‘काङसोवा’ नै लगाइएको छ। काङसोवा मेला लाग्ने स्थानको ठीक पारिपट्टि हाङसामोरङ पर्छ र चौबिसपट्टि हाङसामोरङमा कैलाश शिवको मन्दिर स्थापना गरी शिवरात्रि (सेउराती) मेला लाग्ने गर्दछ।
इतिहासमा लिम्बुवानी सेनाहरू काङसोरे, साङबोतरे, तेसाक्पा, सिपा, फाक्ते, मुदिम्बा आदिलाई ठूलो सम्मान गर्दै आत्मगौरवका साथ लिम्बुवानवासीहरूले सम्झिरहन्छन्।
खेवा वंशावली वि.सं. २०५५ मा प्रकाशित भयो र त्यसको केही पछाडि वि.सं. २०६२/६३ तिर मात्र काङसोरेको चर्चा शुरु भयो। सो वंशावलीमा काङसोरेको नाम लेखिएको छ तर काङसोरेको नाम कसले राख्यो भनेर लेखकहरू बीच नै खोजी भयो। अन्ततः लिम्बु इतिहासविद् स्व. भरत तुङघङले आफूलाई सुब्बा स्व. हिर्दयमान लिम्बुले वि.सं. २०५२ मा नोट टिपाएको (भिडियोमा हेर्नुहोस्) बताएपछि पत्ता लाग्यो, वंशावलीमा स्व. लिम्बुले राखे तर वंशावली प्रकाशन गर्नु भन्दा केही हप्ता अघिनै उहाँको निधन भएको थियो। काङसोरेको चर्चा चुलिएपछि फागो चोङवाङ र वनेम वंशले समेत दावी गर्न थालेका छन्। इतिहासको विषयमा बेग्लाबेग्लै दावी हुनुलाई सामान्य मानिन्छ। काङसोरे लिम्बु हुन् भन्नेमा विवाद छैन तर लिम्बु भित्र कुन वंशका हुन् भन्ने सवालमा आ–आफ्नो दावीलाई मेटाउन इतिहासकार इमानसिंह चेम्जोङको किरात कालिन विजयपुरको इतिहास नामक पुस्तकमा उल्लेख भएको स्थानमा काङसोरे र रघु रानाको समाधि अहिले पनि सुरक्षित भएकोले कार्बन डेटिङ र डिएनए गर्न सकिन्छ।
संवत् १८३१ मा सम्झौता गर्ने लिम्बुहरूले सम्झौता गरे र केही लिम्बुहरूले युद्धलाई निरन्तरता दिए। छथर, याङवरक, चैनपुर (जसमुखी), अरुण उपत्यकाका लिङथेपहरू लगायतले युद्धलाई निरन्तरता दिए जसको नेतृत्व बुद्धिकर्ण खेवाहाङले गरेका थिए। सिर्देउ फाँगो, रैनसिं लिबाङ, फेदापका आताहाङ लगायतले गोर्खालीहरूलाई समर्थन गरेको इतिहास भेटिन्छ। लिम्बुवान विरुद्ध लिम्बुहरू नै लागेका थिए। सम्झौता गर्ने कुम राय, सुन राय र जंग रायले समेत गोर्खाहरूलाई नै सहयोग गरेको पाइन्छ। सम्झौता पछि पनि निरन्तर युद्धको नेतृत्व गर्ने बुद्धिकर्णलाई संवत् १८३४ मा कम्पनी टेरिटोरी चिलिमारी भन्ने ठाउँबाट विजयपुरमा ल्याई ३ दिन यातना दिई मारियो। निरन्तर १७ वर्ष (१८३१–१८४८) सम्म चलेको युद्धहरू मध्ये सिद्धिपुर (शंखुवासभा) युद्ध अन्तिम भएको पाइन्छ। सोही समयमा युद्ध जित्ने वित्तिकै याङवरक हिल्लहाँङ हुँदै पान्थरको इस्लिम्बा च्याङथापु सम्म गोर्खालीले दखल गरेको भेटिन्छ।
सेनापति काङसोरे लिम्बुवान इतिहासको उच्च विरासत भएकाले यो कुनै वंशको भन्दा पनि समग्र लिम्बुवानको साझा सम्पतिको रूपमा लिन पर्छ। उनले दिएको योगदानलाई सधैं सम्झन सकौं। काङसोरेको आशीर्वाद लिँदै निरन्तर लिम्बुवान पुनःस्थापनाको निम्ति जुटौं।
जय काङसोरे।