नुमा लिम्बुको अन्तर्राष्ट्रिय सफलता: समावेशी पर्यटनको क्षेत्रमा नेपालका लागि गर्वको उपलब्धि — OSNepal

नुमा लिम्बुको अन्तर्राष्ट्रिय सफलता: समावेशी पर्यटनको क्षेत्रमा नेपालका लागि गर्वको उपलब्धि

Kesh Karki (USA) July 04, 2025 0

काठमाडौं – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको आवाज बोकेर अघि बढ्दै आएकी नुमा लिम्बु (चञ्चला)ले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः गौरवान्वित बनाएकी छन्। उनी हालै टियुआई फ्युचर शेपर्स ग्लोबल – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन नवप्रवर्तनकर्ता कार्यक्रममा आधिकारिक रूपमा छनोट भएकी हुन्।

यो कार्यक्रम अन्तर्राष्ट्रिय समावेशी पर्यटन सङ्घ (IGLTA) फाउन्डेसन र टियुआई केयर फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित हुँदै आएको छ। मुख्य उद्देश्य कानुनी सुरक्षा कमजोर भएका मुलुकहरूका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीहरूलाई सशक्त बनाउँदै समावेशी र गरिमायुक्त पर्यटनको प्रवर्द्धन गर्नु हो।

नुमा अब भारत, केन्या, पेरु, मोरक्को लगायत २० भन्दा बढी देशका नवप्रवर्तनकर्ता सहभागीहरूको समूहसँग आवद्ध हुँदै समावेशी पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने यात्रामा अघि बढेकी छन्।

उनी यो कार्यक्रमअन्तर्गत वित्तीय व्यवस्थापन, डिजिटल प्रवर्द्धन, ग्राहक सेवा लगायतका महत्वपूर्ण सीपहरूमा प्रशिक्षण प्राप्त गर्दैछिन्। साथै, पर्यटनका अग्रणी विज्ञहरूबाट प्रत्यक्ष सल्लाह र मार्गदर्शनको अवसर पनि पाउनेछिन्।

यति मात्र होइन, उनी अब IGLTA अन्तर्गतका १३ हजारभन्दा बढी समावेशी पर्यटन व्यवसायहरूसँग प्रत्यक्ष रूपमा जोडिनेछिन्। यसले उनको भविष्यका परियोजनाहरूका लागि अन्तर्राष्ट्रिय सहयोग र सञ्जाल विस्तारको महत्वपूर्ण ढोका खोल्नेछ।

कार्यक्रमको अर्को विशेष अवसर स्वरूप, नुमा सन् २०२६ मा स्पेनको सेभिलमा आयोजना हुने अन्तर्राष्ट्रिय समावेशी पर्यटन महासम्मेलनमा सहभागी हुनेछिन्। उनले आफ्ना दृष्टिकोण, योजना र परियोजनाहरू विश्वसामु प्रस्तुत गर्नेछिन्, जसबाट नेपाली समावेशी पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ।

यस उपलब्धिलाई संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमा पन्तले लेखेका छन्, “नेपालको पहिचानलाई विश्वमञ्चमा झल्काउने यो प्रेरणादायी सफलताका लागि नुमा लिम्बुलाई बधाई !”

नुमाले पनि पन्तप्रतिको सम्मान व्यक्त गर्दै फेसबुकमार्फत लेखेकी छन्, “हजुरको आशीर्वाद र शिक्षाबाट जीवनको बाटोमा अघि बढ्ने साहस पाएँ। हरेक निर्णयमा हजुरको मार्गदर्शन साथ भएको अनुभूति हुन्छ। यदि कहिल्यै बाटो बिराएँ भने, फेरि सम्झाइदिनुहोला, किनभने हजुरको सम्झाइमा माया लुकेको हुन्छ।”

उनको यो भावुक अभिव्यक्तिले नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र प्रेरणा, नेतृत्व र शिक्षालयको भूमिकालाई उजागर गरेको छ।

गत वर्ष पन्तको नेतृत्वमा मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै आयोजना गरेको इन्द्रेणी अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनले नेपालमा समावेशी पर्यटन प्रवर्द्धनमा नयाँ युगको सुरुवात गरेको थियो। त्यस यात्रालाई नुमाको यो सफलता थप सशक्त बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर