भक्तपुर – मध्यपुर थिमी नगरपालिकाको आयोजनामा तथा जिएम ब्युटी सैलुनको सहकार्यमा कौशलटारमा आयोजित एक महिने सौन्दर्य कला सम्बन्धी सीप विकास तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ।
लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्न गरिएको यस तालिममा उद्यमशील महिलाहरूलाई सौन्दर्य सेवा सम्बन्धी सीप प्रदान गरिएको थियो। तालिम समापन कार्यक्रममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण र प्रविधी हस्तान्तरण समेत गरिएको थियो।
कार्यक्रम उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखा प्रमुख अभयन्द्र रञ्जितको अध्यक्षता र वडा नं. ३ का अध्यक्ष कृष्ण हरी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा वडा सदस्य निर्मला परियार, वडा सचिव अञ्जु भट्टराई, उपकार साकोसका व्यवस्थापक कपिल ध्वजु, सिनियर कस्माटोलोजिस्ट तथा GM ब्युटी सैलुनकी सञ्चालिका मन्दिरा खड्का, लघु वित्त सहजकर्ता शोभा राउत, पत्रकार र स्थानीयहरुको उल्लेखनीय उपस्थिति थियो।
समापन समारोहमा प्रमुख अतिथिसहित अतिथिहरुले महिलाहरुलाई प्रमाणपत्र र तालिमसँग सम्बन्धित प्रविधिहरू हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले यस्ता सीपमूलक तालिमहरू नियमित सञ्चालन भएमा रोजगारको अवसर सृजना हुने, विदेश जानुपर्ने अवस्था हट्ने र आत्मनिर्भरता बढ्ने बताउँदै यस्तो कार्यक्रमलाई थप प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा यस्ता तालिमहरूलाई तेज गतिमा विस्तार गर्ने योजना पनि सार्वजनिक गर्नुभयो।
कार्यक्रमको सफलतामा GM ब्युटी सैलुनको प्राङ्गणमा केक काट्दै प्रमुख अतिथि तथा सहभागीहरूले खुशीयाली साथ उत्सव मनाएका थिए।