‘माग्ने राजा’को टिजरले दर्शकको मन जित्दा केदार घिमिरे उत्साहित — OSNepal

‘माग्ने राजा’को टिजरले दर्शकको मन जित्दा केदार घिमिरे उत्साहित

Kesh Karki (USA) July 04, 2025 0

काठमाडौं – हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को नयाँ सिनेमामा मुख्य भूमिका निर्वाह गर्दै आएका छन्। ‘माग्ने राजा’ नामक सिनेमाको हालै सार्वजनिक गरिएको टिजरले दर्शकबाट आशातित प्रतिक्रिया पाएकोमा घिमिरे निकै उत्साहित देखिएका छन्।

सिनेमाको टिजरले तीन दिनमै करिब १० लाख भ्युज पाउँदै सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। विशेषगरी टिजरमा प्रयोग गरिएका संवाद र प्रडक्सन भ्यालुले दर्शकको ध्यान तानेको छ। टिजरमा देखिएको स्वरूपले दर्शकलाई पुरानो माग्ने बुढाको झल्को दिलाए पनि यसपटकको पात्र अलि भिन्न र ताजगीयुक्त हुने अभिनेता घिमिरेको भनाइ छ।

“टिजरमा आएको प्रतिक्रिया सकारात्मक छ। माग्नेको नयाँ स्वरूप देख्न दर्शक उत्साहित हुनुहुन्छ, त्यो हाम्रो टिमका लागि उत्साहजनक कुरा हो,” घिमिरेले भने, “यद्यपि यो पात्र माग्ने बुढाकै निरन्तरता हो र त्यसैले केही लवज र थेगोहरू दोहोरिएका छन्। तर सिनेमा हेर्दा नयाँ माग्ने पनि पाउनुहुनेछ।”

सिनेमाका निर्देशक ऋषि लामिछानेका अनुसार, ‘माग्ने राजा’ हास्य विधामा आधारित छ र यसको टिजरले दर्शकमाझ जिज्ञासा जगाउने उद्देश्य पुरा गरेको छ। “टिजरले दर्शकलाई सिनेमा हेर्न उत्साहित बनायो, जुन मुख्य उद्देश्य हो। केदार घिमिरेलाई मुख्य भूमिकामा प्रस्तुत गर्दा केही शंका थिए, तर दर्शकको प्रतिक्रियाले हामी ढुक्क भएका छौं,” उनले बताए।

सिनेमाको कथा माग्ने पात्र वरिपरि घुम्नेछ। निर्देशक लामिछाने भन्छन्, “यो माग्ने बुढाकै स्पिन अफ जस्तो हो। तर यसमा नयाँ शैली र प्रस्तुतिको स्वाद छ। हामीले हास्यरसको माध्यमबाट सन्देश दिन खोजेका छौं।”

मुनाल घिमिरेको लगानीमा बनेको यो सिनेमामा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी लगायतका कलाकारले अभिनय गरेका छन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन्।

‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। टिजरले सिर्जना गरेको हाइपले सिनेमा दर्शक माझ राम्रो उपस्थिति जनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर