काठमाडौं — लोकप्रिय गायिका एलिना चौहानको आवाजमा नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक भएको छ। रोमान्टिक स्वादमा तयार भएको यस गीतमा एलिनाले आफ्ना व्यक्तिगत अनुभूतिहरू गीतमार्फत पोखेकी छन्।
गीतका शब्द र संगीत कस्तुप पन्तले तयार पारेका हुन् भने सङ्गीत संयोजन रमेश सेन्चुरीको रहेको छ। गीतको प्रत्येक शब्द एलिनाको मनको भावनाको प्रतिध्वनि जस्तै लाग्छ। प्रेम, संघर्ष र आत्मस्वाभिमानको मिश्रणले गीतलाई अझै मर्मस्पर्शी बनाएको छ।
गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। स्मारिका ढकालको अभिनय रहेको भिडियोको कोरियोग्राफी र निर्देशन काजिश श्रेष्ठले गरेका हुन्। महेश महराको छायांकन र दीपक विष्टको सम्पादन रहेको भिडियोमा थुप्रै कोरस कलाकारहरूको पनि सहभागिता देख्न सकिन्छ।
सारथी म्युजिक प्रा.लि.को ब्यानरमा सार्वजनिक गरिएको गीतले छोटो समयमा नै व्यापक दर्शकको ध्यान तानेको छ। सार्वजनिक भएको २४ घण्टामै १ लाख ७४ हजार भन्दा बढीले हेरेका छन् भने गीतमा आधारित टिकटक भिडियोहरू पनि धमाधम बन्न थालेका छन्।
एलिनाको आवाज र गीतको भावनात्मक गहिराइले दर्शकको मन छोएको देखिन्छ। यस गीतमार्फत उनले “सबैको मन जित्न खोज्दा आफूलाई हराउन हुँदैन” भन्ने सन्देश दिन खोजेकी छन्।