एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुन सकेन — OSNepal

एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुन सकेन

Kesh Karki (USA) August 11, 2021 0

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन । यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो देखाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई समयमै अक्सिजन प्लान्ट जडान हुन नसकेपछि स्पष्टीकरण मागसमेत गरिसकेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भएको विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।

अबको सात दिनभित्रमा अस्पतालमा उद्योग सङ्घले सहयोग गरेको अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । सरकारले कोरोनाको तेस्रो भेरियन्टको चेतावनी दिइराख्दा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ हुनु उचित नभएकाले तत्काल यसप्रति अस्पताल प्रशासनको ध्यान जानुपर्ने प्रशासनको निष्कर्ष छ ।

सरकारले कोभिड–१९ को तेस्रो लहरको चेतावनी केही समयअघिदेखि नै दिँदै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सावधानी तथा भविष्यमा आउने खतराका लागि सजग रहन र पूर्वाधार तयार पार्न पत्रसमेत पठाइसकेको छ । यता हेटौँडा अस्पतालले भने यस विषयमा खासै चासो देखाएको देखिन्न । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पताललाई गत असार १६ गते दिएको अक्सिजन प्लान्ट अझै जडान हुनसकेको छैन ।

गत जेठमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रोहवरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले सम्झौतापत्रमा जेठ १६ गतेसम्म ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिनेसम्बन्धी हस्ताक्षर भएको थियो ।

अस्पतालले १५ देखि २० दिनसम्म प्लान्ट जडान भइसक्ने जानकारी गराएको छ । प्लान्ट निर्माणका लागि ट्रस भवनको निर्माण भइरहेको हुँदा केही समय ढिला हुन गएकाले अब छिट्टै सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ । उद्योघ सङ्घले प्लान्ट निर्माणका लागि रु एक करोड ३० लाख खर्च गरेको थियो ।

वडा कार्यालय निर्माण सम्पन्न

मकवानपुरको मनहरि गाउँपालिकाको दुईवटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । मनहरि–२ र ५ को वडा कार्यालय भवन निर्माणको काम सकिएको हो । ठेक्कामार्फत निर्माण भएको साढे दुई तलाको वडा कार्यालय भवन निर्माण सकिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । अरु चारवटा वडा कार्यालयका भवन निर्माण जारी छन् ।

मनहरिका वडा नं १, ६, ७ र ९ को वडा कार्यालयको भवन निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । आगामी कात्तिकसम्ममा सबै वडा कार्यालय भाडाको घरबाट आफ्नै सुविधासम्पन्न कार्यालयमा सरिसक्ने अध्यक्ष उप्रेतीले बताउनुभयो । पहिले साविकको मनहरि र हाँडीखोला गाविसका भवनमा दुईवटा वडा कार्यालय रहे पनि अरु छ वटाका लागि समस्या भएको थियो । कार्यालय भवन नभएका वडा कार्यालय ठेक्कामार्फत निर्माण भएको हो । प्रत्येक वडा कार्यालयमा सातवटा कोठा तथा वडा सचिवका लागि आवास निर्माण गरिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर