ताजा र हाईजेनिक मासु डेलिभरीका लागि 'मासु' एपको सेवा शुरु — OSNepal

ताजा र हाईजेनिक मासु डेलिभरीका लागि ‘मासु’ एपको सेवा शुरु

LC (KTM) August 11, 2021 0

काठमाडौं। ताजा र हाईजेनिक मासु डेलिभरीको लागि शुरु भएको अनलाइन प्लाटफर्म ‘मासु’ले आफ्नो सेवा शुरु गरेको छ । ‘मासु’बाट सेवा लिन मोबाईल एप्लिकेशन र वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ । मासुको हाईजिन कायम राख्नको लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिंगगरी शुन्य देखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजना सहित ‘मासु’ एप शुरु गरिएको बताईएको छ । यो एपलाई दुई युवाहरु बिकास गिरी र बिशाल रथ गिरीले संचालनमा ल्याएका हुन् ।

‘हामीले ताजा र हाईजेनिक मासु समयमै उपलब्ध गराउँछौं, जुन कहिल्यै फ्रोजन भएको हुनेछैन । मासुलाई उपयुक्त तापक्रममा तयार तथा स्टोर नगर्ने हो भने ३० मिनेट भित्र मासुमा अत्याधिक ब्याक्टेरिया वृद्दि हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि घातक हुन सक्छ’, संचालक बिकास गिरीले बताए । गिरीका अनुसार ‘मासु’ले बेच्ने मासु ग्राहकको हातसम्म पुग्दा विभिन्न १२ प्रकारका गुणस्तर जाँच पास गर्नेछ ।

मासु अर्डर गर्नको लागि एन्ड्रोईड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट ‘MASU’ एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताको लागि छिट्टै एप स्टोरमा उपलब्ध हुने बताईएको छ भने वेब ब्राउजर मार्फत www.masu.store बाट पनि अर्डर गर्न सकिनेछ ।

प्रारम्भिक चरणमा काठमाण्डौ उपत्यकामा १२० मिनेटभित्र निशुल्क डेलिभर हुने गरी तयारी गरिएको गिरीले बताए । यो सेवा विस्तारै देशैभर पुर्याउने योजना रहेको उनले बताए । ‘मासु’ एप बाट खसीको मासु रु. १०५० देखि किन्न पाईने बताइएको छ । बुधवारदेखी प्रि अर्डर शुरु गरिने तथा श्रावण ३० गतेदेखि डेलिभरी सेवा शुरु गरिने संचालक बिशाल रथ गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर