मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज — OSNepal

मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज

Kesh Karki (USA) August 12, 2021 0

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको हो ।

आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट स्थापनालगायतका लागि सङ्घीय सरकारबाट आएको रु नौ करोडमध्ये अक्सिजन प्लान्टका लागि आएको रकम फ्रिज भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनुभयो । मेची अस्पतालमा सङ्घीय सरकारले १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्टका लागि रकम पठाएको थियो ।

“जेठ अन्तिममा रकम आयो”, उहाँले भन्नुभयो, “१५ दिने म्याद राखेर बोलपत्र आह्वान ग¥यौँ, एउटा फर्मले बोलपत्र हाल्यो, त्यसमा पनि काम सम्पन्न गर्न ढेडदेखि दुई महिना लाग्ने बताएपछि काम गर्न सकिएन ।” यता प्रदेश नं १ सरकारले अस्पताललाई उपलब्ध गराएको ३५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा जडान गरिएको विद्युत् ट्रान्समिटर कम क्षमता भएकाले अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

हाल अस्पतालमा ५० केभिए क्षमताको विद्युत् ट्रान्समिटर छ । अस्पतालको पुरानो र नयाँ सबै भवनमा पुग्ने गरी ३०० केभिएको ट्रान्समिटर जडान गर्न लागिएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । नेपाल चिकित्सक सङ्घले दिने भनिएको ११० क्षमताको अक्सिजन प्लान्ट एक महिनाभित्र सञ्चालनमा आउने र प्रदेश सरकारले उपलब्ध गराएको ३५ गरी १४५ सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट चाँडै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर