युवा दिवस – युवाका समस्या र चुनौति — OSNepal

युवा दिवस – युवाका समस्या र चुनौति

LC (KTM) August 12, 2021 0

अगष्ट १२ अर्थात अन्तर्राष्ट्रिय युुवा दिवस विभिन्न कार्यक्रम को आयोजना गरेर विश्वभर मनाउने गरिन्छ।यस वर्ष पनि “ खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन“ भन्ने मुल नारा का साथ नेपाल मा विभिन्न र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ सस्था, युवा क्लब , नेपाल सरकार तथा विभिन्न स्थानीय सरकार ले कोरोनाको विषम परिस्थितिमा पनि विभिन्न कार्यक्रम गरि मनाईरहेको छ।

सामान्यतः युवा जीवनको एउटा त्यस्तो समय हो जतिबेला र गत तातो हुन्छ, आक्रोश नशा–नशामा हुन्छ र क्रान्ति हरेकको मस्तिष्कमा। युवावस्था केही नयाँ, केही पृथक, परिवर्तनशील सोच अनि चिन्तनको समय हो ।मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनको महत्त्वपूर्ण खम्बा हो । वर्तमान अवस्था ४०.४३% युवाको जनसंख्या भएको हाम्रो देशमा १४%युवा रोजगारि र शिक्षाका लागि विदेश मा छन् भने पुर्ण बेरोजगार युवा १९.२%छन् । युवाहरू रोजगारिका लागि विदेश जाने क्रम पनि बढिरहेको छ।युवाको हक हित र अधिकारका लागि राष्ट्रिय युवा परिषद् पनि स्थापना भएको छ। विभिन्न निकाय तथा सरकारले युवाका क्षेत्र बाट रास्टिय स्तरका कार्यक्रम तथा निति ल्याएको छ जस्तो युवा लक्ष्यित रोजगार अवसर सिर्जना गर्ने लक्ष्यका साथ, राष्ट्रिय रोजगार निति २०७१ ,युवा निति २०७२, १० वर्ष युथ भिजन आदि। यस्ता विविध कार्यक्रम आए पनि समय सापेक्ष गुणस्तरीय शिक्षाको अभाव , व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच , बेरोजगार समस्या , स्वास्थ समस्या ,जातीय असमानता ,युवामैत्रि लगानीको अभाव र उद्यमशिलताको अभाव आदि जस्ता समस्या एवम चुनौति नेपाली युवाले सामना गर्नु परिरहेको अवस्था छ।

राज्यका निति तथा कार्यक्रमहरुमा युवका विषयहरु समेटिन आवश्यक छ।नेपालको संविधानले राज्यका निर्देशक सिद्धान्त र नीति अन्तर्गत राज्यका नीतिहरुमा युवाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका माध्यमबाट राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गरी सर्वाङ्गीण राष्ट्रिय विकास गर्नु जरुरी छ भन्ने व्यवस्था गरेको छ।नेपालको सन्दर्भमा युवा अधिकारका सवालहरु मुख्यतया सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिता,आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता, युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकास, शैक्षिक तथा स्वास्थ्यस्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास, पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण, युवाहरुबीच लैंगिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य, विज्ञान तथा प्राविधि, अनुसन्धान र अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन बौद्धिक युवा प्रतिभा पलायन रोक्न राज्यको स्पष्ट नीतिगत प्रतिवद्धता, खेलकूद मार्फत शारीरिक तथा मानसिक विकासको अवसर भने पनि राज्यले कार्यान्वयन गर्न सकेको छैन।

देशका हरेक क्षेत्रमा योगदानको आवश्यकता रहने युवामा बेलैदेखि शैक्षिक ज्ञानका साथै राजनीतिक चेतना पनि हुनु जरुरी हुन्छ। तर, हाम्रो देशमा राजनीतिलाई नितान्त समाजसेवा र राष्ट्रहितभन्दा पनि व्यक्तिगत, दलगत निहित सत्ता स्वार्थमा बढी प्रयोग गरिएका कारण यसको छवि धमिलो बनाइएको छ। समाज परिवर्तनका संवाहक युवाको भूमिका र योगदान महत्त्वपूर्ण हुनेगर्छ। युवा नै देशका समृद्धिका खम्बा हुन्। आजको विश्व राजनीति समाजवाद र पुँजीवादको सेरोफेरोमा ध्रुवीकृत छ। यिनै दर्शनका नाममा खुलेका राजनीतिक दल प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा फस्टाउँदा छन्। राजनीतिले नै देश हाँक्ने नेतृत्व उत्पादन गर्ने हुँदा राजनीतिक क्षेत्र महत्त्वपूर्ण मानिन्छ। तर नेपालमा प्रजातन्त्र स्थापनापछि भने राजनीतिक क्षेत्र सबैभन्दा बदनाम बन्न पुगेको देखिन्छ।युवा वर्गमा स्वाध्ययनको पनि कमी छ। विद्यालयका पाठ्यपुस्तकमात्रै नभएर विभिन्न ज्ञानगुण, जीवनदर्शन, अध्यात्मलगायत कला, साहित्य, मनोरञ्जन, इतिहास, अर्थव्यवस्था र राजनीतिक दर्शनजस्ता विधाको पनि निरन्तर अध्ययन गर्नु आवश्यक छ।विद्यालय र कलेज स्तरका विविध अतिरिक्त क्रियाकलापमा सहभागी बन्दै बेलैदेखि सफल नेतृत्वमा हुनुपर्ने गुणको विकास गर्न सकिन्छ। नेतृत्व कुशलता नै सफल राजनीतिज्ञमा आवश्यक पर्ने महत्त्वपूर्ण प्राविधिक पक्ष हो।

आजको राजनीतिमा युवाको खाँचो छ। युवा अझ खासगरी शिक्षित, सचेत, नैतिक र कुशल युवाको भूमिकाले मात्रै आजको राजनीति सबल र स्थिर बन्नेछ। अनिमात्रै देशले लायक र कुशल नेतृत्व पाउनेछ। त्यस अवस्थामा नै नेपाली जनताको दशकौंदेखिको निराशा अन्त्य हुँदै जानेछ। यसरी जन्मने पुस्ताले बल्ल देशलाई समृद्धितर्फ लैजाने आशा गर्न सकिन्छ।सहभागिता र अवसरका दृष्टिले नेपालका युवाहरुको अवस्था सन्तोषप्रद छैन। त्यसमा पनि महिलाहरुको अवस्था अझ नाजुक रहेको छ। युवाका विभिन्न अधिकारहरुलाई सही रुपमा सम्बोधन गरी उनीहरुको ज्ञान, सीप र अनुभव, र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूलप्रवाहिकरण गर्नेतर्फ राष्ट्रका नीति तथा कार्यक्रमहरु निर्देशित हुनु जरुरी छ।

मुलुक अहिले कोरोना भाइरसको जोखिम अवस्था अगाडि बढी रहेकोछ। कयौं नेपाली युवाहरूको रोजगारि गुमेको छ। रोजगार गुमेर युवाहरू स्वदेश फर्कने क्रम बढेको छ। अब नेपाल सरकार तथा विभिन्न निकायहरूले विदेशबाट फर्किएका युवा शक्तिलाई परिचालन गरि उद्यमशिलता र स्वदेशमा नै रोजगार को वातावरण सिर्जना गर्न आवश्यक छ।अहिले को अवस्थालाई युवाहरूले अवसरको रुपमा लिएर रास्ट्र को विकास र र्राष्ट्रिय उन्नतिमा लाग्ने समय आएको छ। हिजोको कुरालाई समिक्षा गर्दै आगामि दिनमा अझ सुदृढ रुपमा अगाडि बढ्न आवश्यक छ।अब आर्थिक, राजनीतिक ,सामाजिक र सास्कृतिक विकासका क्षेत्रमा आम युवा सहभागिता हुन जरुरी छ। तिनै हिजोका युवा आजका नेतृत्वले ल्याएको राजनैतिक र सामाजिक परिवर्तनलाई आत्मसाथ गर्दै अझै सघन रुपमा स्थापित गराउन र सुदृढ बनाउदै कार्यान्वनमा दिशामा चुस्त दुरुस्त परिपक्क बनाउन अब आजका युवाले पालो लिनु पर्छ, अवसर खोज्नु पर्छ र समाज र राष्ट्र बनाउन अघि सर्नुपर्छ। त्यसका लागि युवा एकजुट हुन् जरूरी छ, युवा एकता आवश्यक छ र अपरिहार्य समेत छ।

अहिले वर्तमान अवस्थामा पब्जी, टिकटक, फेसबुक, लगायत अन्य कुराहरुमा हराइरहेको युवालाई समेत आफ्नो गाँउ, आफ्नो ठाउँ, आफ्नो परिवेश र आफ्नो मौलकता चिनाउनु पर्छ। सामाजिक कुरीति, राजनीतिक खिच्चातानी, अन्धविश्वास र बेथिति विरुद्ध निरन्तर आवाज उठाउनु पर्छ, खबरदारी गर्नुपर्छ। युवाहरु एकजुट भएर एकअर्काको कमजोरीमा पुरक बनेर लड्न जरूरी छ, सारथी बन्न जरूरी छ। त्यति मात्र नभएर एक स्वरमा आवाज बुलन्द बनाउदै गलत कुरा विरुद्ध बोल्न जरूरी छ एकत्रित हुनु जरूरी छ।अनि मात्रै युवालाई सबैले विश्वास गर्ने वातावरण मिल्छ ताकि पछि काचो माटो मात्रै नभनुन।

हरेक क्षेत्र, भूगोल, समुदाय, जाति र वर्ग सबैतिर परिवर्तनको आवश्यकता छ, नविनतम सुरुआतको खाँचो छ। सँगै सभ्य र शिष्ट एवम् मर्यादित परिवार, समाज र राष्ट्र बनाउन एकदमै जरूरी छ।अब त्यसको लागि युवा वर्ग अगाडि आउन आवश्यक छ।विषम परिस्थिति पछिको समय भनेको युवालाई मर्यादित रोजगारिको सिर्जना गरि अन्वेषण अनुसन्धान र सुचना प्रविधिमा जोड दिएर युवालाई स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्दछ।युवालाई रोजगारि सिर्जना गर्न कृषिमा क्रान्ति पर्यटन जलस्रोत उर्जा वन विभिन्न पुर्वाधार र जडिबुटी लगायत सम्भावित आर्थिक वृद्धि का महत्त्वपूर्ण क्षेत्रमा लगानीमा वृद्धि गरि युवा रोजगार र युवा उद्यमशिलता सिर्जना गर्नुपर्छ । सिपयुक्त युवा तथा उद्यमि युवाहरूलाई र्राष्ट्रिय समृद्धि को मेरुदण्ड बनाउन अरु विभिन्न निकायहरू सङ्ग समन्वय गरि आन्तरिक रोजगारिमा उत्पेरित गर्न आवश्यक वातावरण तयार गर्ने र शिक्षामा थप सुधार ल्याएर आम युवाका लागि गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा मा जोड दिन आवश्यक छ। नेपाल को सविधान मा व्यवस्था भएको ऐन ,कानुन नीति लाई प्रभावकारि रुपमा कार्यन्वयन गरि सम्पूर्ण युवाहरूलाई एक ढिक्का बनाएर राज्य सयन्त्रको विभिन्न तहमा युवाको सहभागीता हुन आवश्यक छ।भएको कार्यक्रम ,विभिन्न योजना तथा क्षेत्र लाई समेटेर नेपाल सरकारले युवाशक्ति लाई विभिन्न क्षेत्रमा सहि परिचालन गर्न सक्ने हो भने युवा दिवसले सार्थकता पाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर