लगातारको वर्षाका कारण धनगढी जलमग्न — OSNepal

लगातारको वर्षाका कारण धनगढी जलमग्न

LC (KTM) August 14, 2021 0

लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी धनगढी –३ को विशालनगर, मिलनचोक, शिवनगर, वडा नं. २ को शिखर टोल, पुरानो भन्सार कटान गाउँको दक्षिण पट्टीको बस्ती, वडा नं. ४ को उत्तरबेहडीलगायत बस्ती जलमग्न भइ स्थानीयको जनजीवन प्रभावित बनेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै वडा नं. १४ र १९ का १० घरपरिवार डुबानमा परी प्रभावित भएपछि सशस्त्र प्रहरी सो क्षेत्रमा गई घर भित्रका सरसामान, खाद्यान्न लगायतका सामाग्रीहरु बाहिर निकालिएको बताउँनुभयो । उहाँले धनगढीका अन्य बस्तीका घर तथा पसलमा पनि पानी पसेको बताउनुभयो । हरेक वर्ष डुबानको समस्या दोहोरिँदै गएको वडा नं. २ का वडाध्यक्ष नगरबहादुर बलले बताउँनुभयो । धनगढी– २ शिखर टोलका स्थानीय रामदत्त भट्टले बस्तीका कतिपय घर भित्र पानी पसेको र वर्षाले बाटोघाटो पूरै जलमग्न भएपछि आवतजावतमा समस्या भएको बताउनुभयो ।

पानी निकास हुने ढलको व्यवस्थापन नभई सडक कालोपत्रे हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेकाले डुबानबाट सुरक्षित रहन नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ । यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडक पनि जलमग्न भएका छन् । धनगढीको छ लेन सडक र अर्कोतिर रिङ रोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको हो । उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुबानको समस्या वर्षेनी दोहोरिने क्रम बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर