एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराए डा. डीआरले — OSNepal

एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराए डा. डीआरले

LC (KTM) August 16, 2021 0

काठमाडौं -डा. डीआर उपाध्यायले एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई उक्त रेकर्ड हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा. उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रेकर्ड हस्तान्तरण गर्नुभएको होे । सो अवसरमा गिनिज बुकको मिडिया को–अर्डिनेटरको प्रमाणपत्र हिमालय टाइम्सका कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो ।

विश्व कीर्तिमानी डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । मिलापको संयोजनमा गरिएको कार्यक्रममा साहित्यकार गणेश सुवेदीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

डा. उपाध्यायले नेपालमा भएका विभिन्न दैनिकमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ जुन २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुभएको थियो । यसअघि यो विश्व रेकर्ड बेलायतका क्रिस जिगरको नाममा रहेको थियो । जिगरले क्यान्सर जागरुकताका बारेमा लेख प्रकाशन गर्नुभएको थियो । उहाँका १९ राष्ट्रिय दैनिकमा लेख प्रकाशित भएको थियो ।

‘मैले कायम गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि होे’, डा. उपाध्यायले भन्नुभयो । डा. उपाध्यायले यसअघि गीतसंगीत तथा विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम गरी नेपालको गौरव बढाउनुभएको छ । उपाध्यायका एक दर्जनजति उपन्यास प्रकाशित छन् भने तीन गीतिसंग्रह प्रकाशित छन् । यस्तै उहाँका २४ एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर