पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न — OSNepal

पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न

Kesh Karki (USA) August 18, 2021 0

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई÷तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।

तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताउनुभयो ।

एक्कासि पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर भागा–भाग भएको सरदारको भनाइ छ । बाढी बस्तीमा आएसँगै सर्पको बिगबिगीसमेत बढेको पीडितले बताएका छन् । पानी घरमा छिरेकाले सर्प घरभित्र आउन थालेको स्थानीयवासी श्याम दासले बताउनुभयो ।

जीता नदीको बाढीले १५० घर डुबानमा परेपछि बाढीपीडित हाल गाउँका उच्च स्थानको खोजी गरी बसेका छन् । बाढीले पु¥याएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाउँदै मानवीय क्षति भने नभएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाले बताउनुभयो । बाँध भत्किएर बाढी बस्तीतर्फ छिरेपछि गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेर जानकारी लिनुभएको छ ।

अध्यक्ष सिंहले बाढी प्रभावितको व्यवस्थापन, राहत, उद्धारको कार्य तत्काल शुरु गरिएको बताउनुभयो । बाढीले आधा दर्जन घर भत्किएर पूर्ण रुपले क्षति भएको छ भने अन्य घरमा पनि कटान सुरु भएको पीडितले बताएका छन् । बाढीले एक्कासि धार परिवर्तन गर्दा गाउँपालिकाका सयौं बिघा धानबालीमा समेत क्षति पुगेको स्थानीयवासीले जनाएका छन् । बस्ती नै डुबान भएपछि पानीको स्रोत टु्युबवेल तथा इनार डुबेकाले खानेपानीको चरम अभाव भएको पीडितको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर