ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै हुन्, शान्ता — OSNepal

ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै हुन्, शान्ता

Kesh Karki (USA) August 21, 2021 0

वालिङ, ५ भदौ (रासस) – राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ लाई पुष्टि गर्ने एउटा सशक्त उदाहरण हुन्, शान्ता नेपाली ।

स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङ बजार नजिकै रहेको खेल मैदान छेउमा सानो झुप्रोभित्रबाट तीव्र इच्छा शक्तिसहित उम्रेको पालुवा हुन्, शान्ता । खेल मैदानको छेउमा लामो समयदेखि ओत लाउँदै आउनुभएका उहाँलाई बास छाड्नुपर्ने समस्या एकातिर छ भने आफ्नो जग्गा जमिन नभएकाले ओत बनाउने पनि ठाउँ छैन ।

वालिङ नगरपालिकाले तत्कालका लागि खेलमैदानको किनारमा रहेको सार्वजनिक शौचालयको माथिल्लो तलामा उहाँ बस्ने व्यवस्था मिलाएको छ । वृद्धबुबा, आमा र सुस्तमनस्थितिकी दिदीसहितको परिवारको सहाराकारुपमा रहनुभएकी शान्ताले नजिकैको आँधीखोलामा गिटी कुट्ने, बालुवा चाल्ने, होटलमा कपडा धुने गरेर घर खर्च चलाउँदै आउनुभएको छ ।

आफूले काम नगरी साँझ, बिहान खानको जोहो नहुँदानहुँदै पनि फुटबलप्रतिको उच्च मोह र लगावकै कारण आज विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शनसमेत गर्दै आउनुभएको छ, शान्ताले । उहाँ बिहान दिउँसो काममा जाने र साँझ ५ बजेपछि खेल मैदानमा फुटबलको अभ्यास गर्न जानुहुन्छ । कहिलेकाहीँ काम अबेरसम्म गर्नुपर्ने हुनाले समयमै अभ्यास गर्न आउन नपाउँदा दुःख लागेको अनुभव पनि उहाँसँग प्रशस्तै छन् ।

“अरु साथी जस्तै मलाई पनि एकदिन पनि नविराइ निरन्तर अभ्यास गरौँ भन्ने त चाहना हुन्छ नि”, शान्ताले भन्नुभयो, “तर के गरौँ काम नगरी साँझ बिहान घरको चुल्हो पनि त बल्दैन ।” सानो छँदा फुटेको भलिबलभित्र कपडा तथा कागज पोको पारेर फुटबल खेल्न शुरु गरेकी शान्ताले पाँच वर्षअघिदेखि वालिङस्थित क्लबबाट तथा नगरपालिकाको प्रतिनिधित्व गर्दै नेपालका विभिन्न शहर तथा भारतमासमेत पुग्नुभएको छ । उहाँले वालिङ, पोखरा, विराटनगरका विभिन्न क्लबबाट राष्ट्रियस्तरका विभिन्न उमेर समूहका खेल खेलेर पुरस्कारसमेत हात पार्नुभएको छ । “विभिन्न ठाउँमा गई खेल प्रदर्शन गरेर पुरस्कार पाइन्छ तर तिनै पुरस्कार राख्ने ठाउँ छैन, शिल्ड, मेडल राख्ने र झुण्डाउने ठाउँको अभाव छ”, शान्ताको गुनासो छ ।

खेलमा अझै मेहनत गरेर राष्ट्रिय टिमबाट देशका लागि खेल खेल्ने रुचिले जरा गाडेर बसेको छ उहाँमा । जतिसुकै बिघ्नबाधा, आरोहअवरोध आइरहुन् तर आफू लक्ष्यमा पुगेरै छाड्ने आफ्नो दृढ सङ्कल्प रहेको शान्ताको भनाइ छ । आर्थिक अभावका कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यताका कारण उहाँलाई दैनिक फुटबल प्रशिक्षणमा सहभागी हुन समस्या भइरहेको प्रशिक्षक दिलीप थापाले बताउनुभयो ।

शान्ता फुटबल खेलप्रति अत्यन्तै रुचि राख्ने राम्रो खेलाडी भएको उहाँको भनाइ छ । घरायसी समस्याले खेल क्षेत्रबाट उदाउँदो खेलाडी गुमाउन नपरोस् भन्ने उद्देश्यले वालिङ नगरपालिकाका प्रमुखसमक्ष तत्काल आवास व्यवस्थापनका लागि गरेको अनुरोधको सुनुवाइ भएको प्रशिक्षक थापाले बताउनुभयो । गत हप्ता फुटबल खेलाडी शान्तालाई नेप्लेज डटकमको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपाली सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा नगद प्राप्त भएको थियो । नेप्लेज डटकमका सम्पादक मुक्तिबाबु रेग्मीले सहयोगस्वरुप प्राप्त रु दुई लाख ५९ हजार नगद शान्ता र उहाँको परिवारलाई हस्तान्तरण गरिसकेको छ ।

“खेलप्रति राम्रो लगाव रहेको तर आर्थिक अभावका कारण खेल क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था नआओस् भन्ने हेतुले उहाँकाबारेमा डकुमेन्ट्री तयार पारी प्रस्तुत ग¥र्यौं”, सम्पादक रेग्मीले भन्नुभयो, “उक्त डकुमेन्ट्री हेरेर देश तथा विदेशबाट सहयोग प्राप्त भयो । जसले गर्दा शान्तालाई केही सहज हुने विश्वास लिएका छौँ ।” घरबारविहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करिब पाँच आना घडेरी खरिद गरिसकेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । शान्तालाई अब छिट्टै लालपूर्जा हस्तान्तरण गरी आवास निर्माणको प्रक्रिया शुरु गरिने उहाँको भनाइ छ ।

नगरपालिकाले राष्ट्रियस्तरमा सहभागी खेलाडीको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा तथा अध्ययनरत खेलाडीलाई सम्बन्धित विद्यालयसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । नगरपालिकाले उपलब्ध गराउन लागेको जग्गामा आवास निर्माणका लागि आवश्यक सहयोग गर्ने स्कूल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर