कुनै बेला घरकै धारामा पानी भर्ने कल्पनामात्रै जसीकुमारीले धारामा पानी आएपछि भनिन्, 'गाउँमै सिंहदरबार आएछ' — OSNepal

कुनै बेला घरकै धारामा पानी भर्ने कल्पनामात्रै जसीकुमारीले धारामा पानी आएपछि भनिन्, ‘गाउँमै सिंहदरबार आएछ’

LC (KTM) August 27, 2021 0

गुल्मी, ११ भदौ- कालीगण्डकी गाउँपालिका–२ भयकोटकी ४४ वर्षीया जसीकुमारी थापाले कुनै बेला घरकै धारामा पानी भर्ने कल्पनामात्रै गर्थिन् । तर, उनको कल्पना अहिले साकार भएको छ । पुस्तौंदेखिको पानीको समस्या अहिले समाधान भएपछि जसीकुमारीसहित भयकोटवासी अहिले आफ्नै घरमा धारामा पानी भर्न थालेका छन् ।

भयकोटवासीका कयौँ पुस्ताले कुवा र पँधेरोबाट पानी बोकेरै पानीको अभाव पूर्ति गरेका थिए । वर्षौंदेखिको पानीको समस्या कहिले समाधान होला भनेर भयकोटवासी सरकारको मुख ताक्दै आएका थिए ।

तर, अहिले उनीको समस्याको समाधान स्थानीय सरकारले गरिदिएको छ । जसीकुमारीलाई विकटको कुरा कसले सुनिदेला भन्ने लाग्थ्यो । ‘विकटको समस्या कसले देख्ला र भन्ने सोच्थें । अहिले पानी आउँदा सपना जस्तै लागेको छ’, उनले भनिन्, ‘बल्ल सिंहदरबार गाउँमै आएको महसुस भएको छ ।’

स्थानीय तहले जनप्रतिनिधि पाएपछि स्थानीयका स–साना समस्या पूरा हुन थालेका छन् । पछिल्लो उदाहरण भयकोटको खानेपानी समस्या समाधान हो । अहिले आँगनको डिलमा आफ्नै धाराबाट गार्गीमा पानी भर्न पाउँदा चोला फेरिएकै महसुस भएको जसीकुमारीले अनुभव सुनाइन् ।

उज्यालो हुने बेला पँधेरा पुग्नु पर्थ्यो । बिहानभरमा बोकेको दुई/तीन खेप पानीले घरको भान्सादेखि गोठसम्म थेग्नु पर्थ्यो । दिनभर मेलाको कामले थकित शरीर, तर साँझ पनि पँधेरो नजानुको विकल्प हुन्थेन् । अहिले घरकै धारामा पानी आएपछि विगतका दुःख सम्झनामामात्र बनेको स्थानीय ३७ वर्षीया मञ्जु दर्लामीले बताइन् । घरमा पानी आएपछि समयको बचत, तरकारी खेतीसँगै सरसफाइलगायतको काममा सहज भएको दर्लामीको भनाइ छ ।

गाउँपालिकाले लुम्बिनी प्रदेशसँगको समपुरक योजनाबाट ५३ लाख रुपैयाँमा स्थानीय मलागिरी खानेपानीलाई व्यवस्थित गरेको छ । जसकारण भयकोटका ६४ घरधुरीमा ‘एक घर एक धारा’को काम पूरा गरिएको कालिगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापाले जानकारी दिए । साथै मटर जडान गरेर केही काम व्यवस्थित गरेपछि थप १० घरधुरीको पनि खानेपानीको समस्या समाधान हुने थापाले बताए ।

उनले पालिकाभित्रका नागरिकहरुलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्ने नै आफूहरुको पहिलो काम भएकाले करिब एक हजार पाँच सय घरधुरीमा ‘एक घर एक धारा’ पूरा गएको थापाले बताए । पालिकाभित्र ‘एक घर एक धारा’को बाँकी रहेका सबै काम आफ्नो कार्यकालभित्र पूरा गर्ने थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर