ओलीतिर झुकाव देखाएपछि अष्टलक्ष्मीलाई हटाएर माधवका यि नेतालाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी — OSNepal

ओलीतिर झुकाव देखाएपछि अष्टलक्ष्मीलाई हटाएर माधवका यि नेतालाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

LC (KTM) August 29, 2021 0

मकवानपुर, १३ भदौ – बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् ।

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै आलोचना भइरहेको छ । पार्टी विभाजनमा साथ नदिएकाले नेपाल शाक्यसँग रुष्ट बनेका छन् ।

मुख्यमन्त्री पदसँग आफ्नो विचार साटेको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टीमा सनाखत गरेपछि शाक्य अल्पमतमा पर्ने बताएका छन् । ‘हामीसँग रहनुभएका शाक्य पार्टी विधि विधानविपरित चल्ने ओलीको मतियार हुन जानुभयो ।’ नेपाल निकट एक सांसदले भने ‘मुख्यमन्त्री पदसँग आफ्नो विचारै साट्नेलाई आगामी दिनमा कसरी समर्थन गर्नु ?’

ति सांसदकाअनुसार एकीकृत समाजवादीमा खुलेपछि गठबन्धन बनाएर शाक्यलाई हटाउने तयारी भइरहेको छ । बागमती प्रदेशसभामा १०९ जना सांसदमध्ये एमालेको एकल बहुमत अर्थात् ५६ जना रहेका छन् । एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा कम्तिमा १२ जना प्रवेश गर्ने तयारी भएको बुझिएको छ । ‘एमालेका हामी नेपालनिकट कम्तिमा पनि १२ जना सांसद नयाँ पार्टीमा जान्छौं ।’

नेपाल निकट अर्का प्रदेशसभा सदस्यले भने, ‘अनि हेरौं न कसरी जोगाउछिन् शाक्यले मुख्यमन्त्रीको कुर्सी ?’ प्रदेशसभामा नेपाली कांग्रेस र माओवादी केन्द्रका २३÷२३ र समाजवादीको १० देखि १२ जना सांसदले बहुमत पुग्ने भएकाले समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी भित्रभित्रै छलफललाई तिव्रता दिइएको उनले खुलासा गरे ।

पार्टी विभाजन भए पनि शाक्यले एमाले र समाजवादीको संयुक्त सरकार बनाउने भित्रभित्रै प्रयत्न गरेको बुझिएको छ । आफ्नो सरकार टिकाउनका लागि शाक्यले नेपालनिकट सांसदहरुलाई विभिन्न अवसरको प्रलोभन दिएको सांसद बताउँछन् । ‘नयाँ पार्टीमा नलाग्न र एमालेमै रहेर आफूलाई सघाउन विभिन्न प्रलोभन बाँड्नु भएको छ ।’ उनले भने, ‘विगतमा प्रतिगमनविरुद्घ सँगै लड्दा पद र अवसरका लागि राजनीति गरेको होइन भन्नेबाटै अहिले हामीलाई अवसरको लोभ देखाउने काम होला भनेर सोचेका पनि थिएनौं ।’

नेपालनिकट सांसद पार्टी दर्ता भएको मितिले २१ दिनभित्र समाजवादीमा खुलेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने र उनले विश्वासको मत लिनुपर्ने अवस्थामा विश्वासको मत नपाई सरकार ढल्ने देखिन्छ । राजेन्द्र पाण्डेका अलावा प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण खनाल एकीकृत समाजवादीमा खुलिसकेका छन् ।

यसकासाथै प्रदेशसभामा सांसद मुनु सिग्देल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, कुसुम कार्की, रमा आलेमगर, माधव पौडेल, लक्ष्मण लम्साललगायतले समाजवादी रोज्ने बुझिएको छ । हाल तीन सदस्यीय मात्रै रहेको शाक्य नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा ओली पक्षका केशवराज पाण्डे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर